१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

Radio Khabar Palika

धनकुटामा बढी भोट ल्याउने पालिका र वडालाई एमालेले गर्यो सम्मान 



१ चैत्र,धनकुटा । धनकुटामा गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीको पक्षमा बढी भोट ल्याउने पालिका र वडा कमिटीलाई नेकपा एमालेले सम्मान गरेको छ । आफ्नो भूगोलमा एमालेको पक्षमा बढी मत ल्याउने एउटा पालिका कमिटी र तीन वटा वडा कमिटीलाई एमाले जिल्ला कमिटीले कार्यक्रम आयोजना गरेर सम्मान गरेको सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए। उनले    जिल्लाका सात पालिका मध्ये एमालेको पक्षमा तुलनात्मक रुपमा सबैभन्दा बढी प्रतिशत मत ल्याउन सफल चौबिसे गाउँ कमिटीलाई सम्मान गरिएको जानकारी दिए । उनका अनुसार वडाहरूमध्ये एमालेको पक्षमा सबैभन्दा बढी प्रतिशत मत ल्याएर प्रथम हुने एमालेको चौबिसे ७ नं. वडा कमिटी, दोस्रो हुने सहिदभूमि ६ नं. वडा कमिटी र तेस्रो हुने पाख्रीवास ७ नं. वडा कमिटीलाई सम्मान गरिएको छ ।  
    एमालेका चार वटै कमिटीका अध्यक्षसहित पदाधिकारीहरूलाई पार्टीका केन्द्रिय सदस्य एवं नव निर्वाचित प्रतिनिधि सभा सदस्य राजेन्द्र राई, केन्द्रिय सदस्य तारा तितुङ, प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङ, जिल्ला अध्यक्ष शिव आङ्ला लगायतले दोसल्ला ओढाएर प्रशंसापत्र प्रदान गरी सम्मानित गरिएको हो। गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा धनकुटाबाट एमाले नेता राजेन्द्र राई १८ हजार १ सय ३२ मतसहित निर्वाचित हुनु भएको छ ।