
२८ फागुन, धनकुटा । नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई निष्कासित गरेको छ।
पार्टी गतिविधि विपरीत काम गरेको आरोपमा मंगलबार सम्पन्न जिल्ला कमिटीको विस्तारित बैठकले उनलाई निष्कासित गर्ने निर्णय गरेको एमाले धनकुटाका जिल्ला अध्यक्ष शिव आङ्लाले जानकारी दिए।अध्यक्ष आङ्लाका अनुसार बैठकमा उठेको विषयका आधारमा उपाध्यक्ष राईमाथि निलम्बनको कारबाही गरिएको हो। राई साँगुरीगढी गाउँपालिकाकी निर्वाचित उपाध्यक्ष हुन्। बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा पार्टीविरुद्ध अन्तर्घात गरेको आरोप लागेका कार्यकर्तामाथि छानबिन गर्न तीन सदस्यीय समिति पनि गठन गरेको छ। भीम राईको संयोजकत्वमा गठित समितिमा हिमादेवी भट्टराई र एमपी उपाध्याय सदस्य रहेका छन्। उपाध्यक्ष मुना राईले भने आफूलाई गरिएको भनिएको कारबाहीबारे हालसम्म औपचारिक जानकारी नपाएको बताएकी छन्। उनले विगतदेखि नै आफूलाई कारबाहीको नाममा दबाब दिने प्रयास भइरहेको दाबी गर्दै यदि कारबाही भएको भए त्यसलाई स्वाभाविक रूपमा लिने प्रतिक्रिया दिएकी छन्।







