
२७ फागुन,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाले दशौँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। ‘कृषि, पर्यटन र पूर्वाधार,साँगुरीगढी समृद्धिको आधार’ भन्ने मूल नाराका साथ गाउँपालिकाले बुधबार स्थापना दिवस मनाएको हो। स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको छ। गाउँपालिकाले सेवा निवृत्त शिक्षक, एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ। त्यसैगरी गाउँपालिकाको प्रचार–प्रसारमा योगदान पुर्याएको भन्दै नेपाल टेलिभिजनका धनकुटा संवाददाता ईश्वर थापालाई नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ। यसै अवसरमा पालिकामा सबैभन्दा बढी विद्यार्थीलाई एसइई उत्तीर्ण गराउन सफल विद्यालयका प्रधानाध्यापक तथा गत वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगदसहित पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ। उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङ, गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई तथा उपाध्यक्ष मुना राई लगायतले सम्मान गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले स्वास्थ्य, शिक्षा, विकास निर्माण तथा कृषि क्षेत्रको विकासका लागि गाउँपालिकामा महत्वपूर्ण कामहरू भइरहेको बताए। उनले पर्यटन क्षेत्रमा थप लगानी गर्न सके स्थानीय अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुग्ने उल्लेख गरे।साँगुरीगढी पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएकाले यसको विकास र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।







