
२५ फागुन धनकुटा । नेकपा एमाले जिल्ला कमिटी धनकुटाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराएकोमा धनकुटाबासी मतदाताप्रति आभार व्यक्त गरेको छ।
धनकुटामा पत्रकार सम्मेलनको आयोजना गर्दै एमालेले मतदाताप्रति आभार व्यक्त गरेको हो । देशमा उत्पन्न असामान्य परिस्थितिका बीच सम्पन्न निर्वाचनलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिइएको एमाले अध्यक्ष शिव लिम्बुले जानकारी दिए । कार्यक्रममा धनकुटाबाट एमालेका उम्मेदवार तथा पार्टीका केन्द्रीय सदस्य राजेन्द्रकुमार राई लाई मत दिई विजयी गराएकोमा मतदाताप्रति कृतज्ञता व्यक्त गरिएको छ। साथै समानुपातिकतर्फ पनि सूर्य चिन्हमा उल्लेख्य मत प्राप्त भएको भन्दै पार्टीले खुशी व्यक्त गरेको छ।

एमालेले निर्वाचन अवधिभर पार्टीका नेता–कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै जिल्ला निर्वाचन कार्यालय, स्थानीय प्रशासन, कर्मचारी, सुरक्षा निकाय, पर्यवेक्षक र सञ्चारकर्मीप्रति पनि धन्यवाद ज्ञापन गरेको छ । पत्रकार सम्मेलनमा एमालेले प्राप्त जनविश्वासलाई सम्मान गर्दै आगामी दिनमा विकास र समृद्धिका लागि धनकुटाबासीको चाहना पूरा गर्न सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।






