२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

Radio Khabar Palika

आठपहरिया समुदायको सबैभन्दा ठूलो चाड मंसीरे चाड सुरु



आठपहरिया समुदायको सबैभन्दा ठूलो चाड मंसीरे चाड सुरु

धनकुटा ।धनकुटामा मुख्य थातथलो भएका आठपहरीया समुदायले उठौली अनुष्ठानको आयोजना गरे सँगै आठपरिया समुदायको सबैभन्दा ठूलो चाड मंसीरे चाड सुरु भएको छ ।


मंसिरे अर्थात् ’वाडाङमेट’ आठपहरिया समुदायको सबैभन्दा ठूलो चाड हो । मंसिरे चाडको पूर्वसन्ध्यामा आठपहरिया समुदायले दैविक आह्वानका लागि उठौली पूजा गर्ने परम्परा रहेकोछ । उठौली पूजा परम्परागत र सांस्कृतिक झाँकीले भरिपूर्ण एक विशेष धार्मिक अनुष्ठान सम्पन्न भएको छ, जसले समुदायको सांस्कृतिक धरोहर र परम्परालाई उजागर गरेको छ । आठपहरीया समुदायको उठौली अनुष्ठान एक महत्वपूर्ण धार्मिक पर्व हो, जुन प्रायः प्रत्येक वर्ष धनकुटा र आसपासका विभिन्न स्थानहरूमा हर्षोल्लासका साथ मनाइन्छ।

यस चाडको प्रमुख उद्देश्य भनेको समुदायका सदस्यहरूको एकता, धार्मिक आस्थाको सशक्तिकरण र परंपरागत संस्कृतिको संरक्षण गर्नु रहेको आठपहरिया समुदायका अगुवाले जानकारी दिएका छन ।


धनकुटा नगरपालिकाको श्रीपञ्चमी, ठूलोघर, लुङदाङ, सिप्तेन, चारिङ्मे, होम्बारक लगायत २१ थलोका आठपहरियाले तिथि हेरेर छुट्टाछुट्टै गुठीघरबाट माङ उठाउने गर्छन् ।

यो समयमा उनीहरु आ–आफ्नो गुठीघरमा भेला भएर मुन्धुम गाउँदै इष्टदेवसँग वरदान माग्ने गर्छन् । आठपरिया समुदायका सदस्यहरूका अनुसार, यो पर्व उनीहरूको सांस्कृतिक पहिचान र सामाजिक जडानको प्रतीक हो। यस चाडले उनीहरूको पारंपरिक जीवनशैली, भेषभूषा, र सांस्कृतिक मूल्यहरूको संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्दछ। यो चाडले समुदायको धार्मिक र सांस्कृतिक मूल्य मान्यतालाई नयाँ पुस्तासम्म पुर्याउने विश्वास उनीहरुमा छ ।