७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

Radio Khabar Palika

धनकुटाको रूपान्तरणका लागि दिनेश राई आठपहिरियाको संकल्प सार्वजनिक





७ फागुन,धनकुटा । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिनेश राई आठपहिरियाले धनकुटाको समग्र रूपान्तरणका लागि आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन्।

उनले धनकुटामा पत्रकार सम्मेलन गर्दै “जनचाहना अनुसार बलियो कांग्रेस, बदलौँ देश” भन्ने नारासहित विकास र सुशासनमुखी एजेन्डा अघि सारेका हुन ।
आठपहिरियाले धनकुटा–हिले–पाख्रीबास–उत्तारपानी–सिंधुवा समेटेर बृहत् नगर निर्माण गर्ने योजना प्रस्तुत गरेका छन्। पर्यटन प्रवर्द्धनका लागि ‘हिमालघर ’ निर्माणको पहल गर्ने, कोशी राजमार्गको २५ मिटर मापदण्ड पुनरावलोकन गर्ने तथा प्रत्येक पालिकामा एक–एक रंगशाला निर्माण गर्ने उनको संकल्प छ।
त्यसैगरी, बाँदर तथा जंगली जनावर नियन्त्रण, गाँजा खेती वैधानिकीकरणका लागि पहल, आठपहरिया जातिको सूचीकरण पहलजस्ता कार्यक्रम पनि प्राथमिकतामा राखिएको उनले जनाएका छन्।


त्यस्तै “धनकुटाको जवानी धनकुटामै” भन्ने नारासहित युवामुखी रोजगारी सिर्जना, व्यवस्थित सहर तथा ‘उवर्र गाउँ’ जस्ता सेवाको विस्तार, धरान–लेउती सुरुङ मार्ग निर्माण, र राजारानी खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रूपमा विकास गर्ने योजना अघि सारेका छन्। उनले हरेक नागरिककाे काेखदेखि शाेकसम्म सेवा सुनिश्चितता गर्ने,पत्रकार महासंघको भवन निर्माणदेखि स्थानीय सञ्चार माध्यमकाे दिगाेपनाका लागि पनि उनकाे प्रथमिकतामा परेकाे छ ।
आठपहिरियाले आफूलाई विजयी गराई धनकुटाको समृद्धि यात्रामा साथ दिन मतदातासँग अपिल गरेका छन्।