
८ फागुन, काठमाण्डौ । मुलुकको बिकासको मोडललाई पुनर्बिचार गर्नुपर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताएका छन ।
बिहीबार काठमाडौंको भृकुटिमण्डपमा नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री दाहालले अहिले योजनाबद्ध ढंगले बिकास निर्माणका काम गर्न नसकिएको भन्दै मुलुकको बिकासको मोडललाई पुनर्बिचार गर्नुपर्ने बताएका हुन । योजना आयोगले बनाएको योजना अनुसार आयोजनाहरु अघि बढ्न नसकेको उनले बताए । उनले बिकास निर्माणका काम सुरु गर्दा प्राथमिकताका आधारमा सुरु गर्नुपर्नेमा जोड दिए । त्रिदेशीय व्यापारिक सम्बन्धलाई मजबुद बनाउनका लागि नाकसम्म सहज रुपमा आवतजावत गर्न सक्ने गरि पूर्वाधार निर्माण गर्नुपर्ने मन्त्री दाहालको भनाइ छ ।

मन्त्री दाहालले निर्माण व्यवसायी, उद्योगीहरुको समस्या समाधान गर्न नियमित ढंगले छलफल भइरहेको जानकारी दिए । निर्माण व्यवसायीको भुक्तानीको समस्या समाधान भएपछि आयोजना निर्माणहरु सहज रुपले अघि बढेको उनले बताए । त्यस्तै उनले सरकार र नीति क्षेत्र मिलेर देशको बिकास निर्माणमा अघि बढ्नुपर्ने धारणा राखे । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लिले संयुक्त रुपमा आयोजना गरेको प्रदर्शनीमा निर्माण ब्यबसायसँग सम्बन्धित उत्पादनहरु र नविनतम् प्रविधिहरुका १५० स्टल राखिएका छन् ।