
१० भदौ, धनकुटा । कोशी प्रदेशका पाँच जिल्लामा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र कुपोषणको दर उच्च पाइएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले स्थानीय तहसँगको सहकार्यमा गरेको कुपोषण परीक्षणमा सुनसरी, मोरङ, खोटाङ, उदयपुर र झापामा कुपोषणको दर तुलनात्मक रूपमा बढी देखिएको हो।

धनकुटामा बुधबार आयोजित वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार सुनसरीमा परीक्षण गरिएका १० हजार ३ सय ८१ बालबालिकामध्ये १३ प्रतिशतमा शीघ्र कुपोषण देखिएको छ। त्यस्तै, मोरङमा १६ हजार ७ सय ८९ बालबालिकाको परीक्षण गर्दा ९ दशमलव ९ प्रतिशत, खोटाङमा ६ हजार ४६ मध्ये ७ दशमलव २९ प्रतिशत, उदयपुरमा ७ हजार ९ सय १२ मध्ये ६ दशमलव ८८ प्रतिशत र झापामा २७ हजार ६ सय ४१ मध्ये ६ दशमलव ३६ प्रतिशत बालबालिकामा कुपोषण पाइएको छ। त्यस्तै संखुवासभामा ५ दशमलव ८९ प्रतिशत, धनकुटामा ५ दशमलव ७६ प्रतिशत, तेह्रथुममा ५ दशमलव ६३ प्रतिशत, ताप्लेजुङमा ४ दशमलव ६७ प्रतिशत, ओखलढुंगामा ४ दशमलव ५८ प्रतिशत, पाँचथरमा ४ दशमलव ३३ प्रतिशत, इलाममा ३ दशमलव २६ प्रतिशत र भोजपुरमा ३ दशमलव १४ प्रतिशत बालबालिकामा शीघ्र कुपोषण देखिएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख सागर प्रसाईंले कुपोषणको दर उच्च देखिएका जिल्ला तथा स्थानीय तह पहिचान गरी न्यूनीकरणका लागि आवश्यक योजना बनाइने बताए। उच्च दर देखिएका पालिका र त्यहाँका बालबालिकाको अवस्थालाई अभिलेखमा समेटिएको भन्दै उहाँले सोही आधारमा स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा लक्षित कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। निर्देशनालयले कोशी प्रदेशका १४ जिल्लाका १ सय ३७ स्थानीय तहमध्ये १ सय ८ स्थानीय तहमा कुपोषण परीक्षण गरेको थियो। परीक्षणमा जन्मेदेखि पाँच वर्ष उमेर समूहका ९९ हजार २१ जना बालबालिका सहभागी भएका थिए।तथ्यांकअनुसार सुनसरीमा शीघ्र कुपोषणको दर सबैभन्दा बढी र भोजपुरमा सबैभन्दा कम देखिएको छ।
