४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

Radio Khabar Palika

धनकुटा बजारका होटल तथा लजमा छड्के अनुगमन, सरसफाइ र मूल्यसूचीमा लापरबाही



४ भदौ, धनकुटा । धनकुटा बजारस्थित हुलाक टोलमा सञ्चालनमा रहेका होटल तथा लजमा छड्के अनुगमन गरिएको छ। होटल तथा लजमा सेवाग्राहीको गुनासो बढेपछि करिब आधा दर्जन होटल तथा लजमा संयुक्त रूपमा अनुगमन गरिएको हो।

अनुगमनका क्रममा केही होटलको भान्सा अस्वच्छ रहेको, खाद्य सामग्रीको उचित व्यवस्थापन नगरिएको तथा मूल्यसूची नराखिएको पाइएको छ। त्यस्तै, आवश्यक मापदण्ड पूरा नगरी होटल तथा लज सञ्चालन भइरहेको समेत भेटिएको अनुगमन टोलीले जनाएको छ। होटलमा रहेका लजका कोठा तथा बेडको व्यवस्थापन र सरसफाइमा समेत कमजोरी देखिएको थियो। शौचालय तथा बाथरुममा फोहोर रहेको र सरसफाइमा पर्याप्त ध्यान नदिएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाकी खाद्य अनुसन्धान अधिकृत अमृता राईले जानकारी दिईन। जिल्ला प्रशासन कार्यालय धनकुटाको नेतृत्वमा धनकुटा नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य संघ र राष्ट्रिय उपभोक्ता मञ्च धनकुटाको संयुक्त टोलीले अनुगमन गरेको हो। अनुगमनका क्रममा होटल सञ्चालकलाई अनिवार्य रूपमा मूल्यसूची टाँस गर्न, म्याद गुज्रेका तथा अखाद्य वस्तुको बिक्री–वितरण नगर्न निर्देशन दिइएको राईले बताइन। यस्तै, खान योग्य खाद्य सामग्री मात्र बिक्री गर्न तथा सेवाग्राहीबाट तोकिएको मूल्यभन्दा बढी रकम नलिन समेत निर्देशन दिइएको छ।

सेवाग्राहीबाट होटल तथा लजका सम्बन्धमा अत्यधिक गुनासो आएपछि छड्के अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ। उपभोक्ता नठगिऊन् तथा होटल तथा लजमा खाद्य स्वच्छता र सेवा मापदण्ड कायम होस् भन्ने उद्देश्यले बजार अनुगमनलाई तीव्रता दिइएको प्रशासनको भनाइ छ। अनुगमन टोलीले होटल तथा लज सञ्चालकलाई सरसफाइ, खाद्य सामग्रीको गुणस्तर, मूल्यसूची र सेवाग्राहीलाई प्रदान गरिने सेवामा विशेष ध्यान दिन आग्रह गरेको छ।