
३० साउन, धनकुटा । ८०औँ भारतीय स्वतन्त्रता दिवसको अवसरमा नेपाल–भारत मैत्री संघ धनकुटा शाखाले विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाएको छ।
धनकुटा नगरपालिका–३ स्थित भाषा माध्यमिक विद्यालयमा संघले विद्यार्थीबीच वादविवाद तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्नुका साथै स्टेशनरी सामग्री वितरण गरेको हो। कार्यक्रममा विद्यार्थीहरूले नेपाल–भारत सम्बन्ध, दुई देशबीचको मैत्री, सहकार्य तथा पारस्परिक सम्बन्धका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए। प्रतियोगिताले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता तथा अभिव्यक्ति कलाको विकाससँगै नेपाल–भारत सम्बन्धबारे ज्ञान र समझदारी बढाउन सहयोग पुगेको आयोजकको भनाइ छ।
नेपाल–भारत मैत्री संघ धनकुटा शाखाका अध्यक्ष महेश श्रेष्ठले संघले सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। उनका अनुसार भारतीय स्वतन्त्रता दिवसको अवसरमा यसअघि पनि विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरणलगायत सामाजिक तथा सहयोगका कार्यक्रम आयोजना हुँदै आएका छन्।
स्थानीय विद्यालयको शैक्षिक गतिविधिलाई प्रोत्साहन गर्नुका साथै नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए। कार्यक्रममा शिक्षक–शिक्षिका, विद्यार्थी, समाजसेवी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

संघले विद्यार्थीलाई नेपाल–भारत सम्बन्ध, पारस्परिक सद्भाव र सहकार्यको महत्वबारे जानकारी गराउँदै नयाँ पुस्तामार्फत दुई देशबीचको जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।
कार्यक्रम नेपाल–भारतबीचको मैत्री, पारस्परिक सम्मान, विश्वास र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धतासहित सम्पन्न भएको आयोजकले जनाएको छ।
