
- उपलब्धि सार्वजनिक: धनकुटा उद्योग वाणिज्य संघले पत्रकार भेटघाटमार्फत वर्तमान कार्यसमितिले व्यवसायीको हकहित संरक्षण, करदाता सेवा, बजार व्यवस्थापन, उद्योग प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा विपद् व्यवस्थापनलगायत क्षेत्रमा गरेका प्रमुख काम सार्वजनिक गरेको छ।
- व्यवसायीमैत्री पहल: संघले करदाता सेवा केन्द्र सञ्चालन, व्यवसाय दर्ता तथा नवीकरणमा सहजीकरण, सहुलियतपूर्ण कर्जाका लागि समन्वय, व्यवसायीका समस्या समाधान, सुरक्षा व्यवस्थापन तथा स्थानीय उत्पादन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
- आगामी प्रतिबद्धता: अध्यक्ष विजय सन्तोषी राईले व्यवसायीको हित, स्थानीय अर्थतन्त्र सुदृढीकरण र लगानी तथा बजार विस्तारलाई निरन्तर प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै सहयोगी सबैप्रति धन्यवाद ज्ञापन गरे। साथै संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका समेत सार्वजनिक भइसकेको जानकारी दिइयो।
२२ साउन, धनकुटा। धनकुटा उद्योग वाणिज्य संघले आफ्नो ४६औँ वार्षिक साधारणसभा तथा अधिवेशनपछि कार्यसमितिले हालसम्म सम्पन्न गरेका महत्त्वपूर्ण काम तथा उपलब्धिहरू सार्वजनिक गरेको छ। पत्रकार भेटघाट कार्यक्रममार्फत संघले व्यवसायीको हकहित संरक्षण, बजार व्यवस्थापन, करदाता सेवा, उद्योग प्रवर्द्धन तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा उल्लेखनीय पहल गरिएको जनाएको हो।
संघका अनुसार कोभिड–१९ महामारीको कठिन समयमा व्यवसायी तथा सर्वसाधारणलाई स्वास्थ्य सामग्री वितरण, सचेतनामूलक अभियान सञ्चालन, बजार व्यवस्थापन तथा अत्यावश्यक उपभोग्य वस्तुको सहज आपूर्तिमा विशेष भूमिका निर्वाह गरिएको थियो। त्यस्तै व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन आवश्यक समन्वय र पहल समेत गरिएको अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए ।
संघले व्यवसायीलाई करसम्बन्धी सेवा सहज बनाउन करदाता सेवा केन्द्र (हेल्प डेस्क) सञ्चालनमा ल्याएको, कर शिक्षा तथा कर–नवीकरण सेवा नियमित रूपमा सञ्चालन गर्दै आएको तथा व्यवसाय दर्ता र नवीकरण प्रक्रियामा सहजीकरण गरेको अध्यक्ष राईले बताए ।
व्यवसायीका गुनासा तथा समस्यालाई सम्बन्धित सरकारी निकायसम्म पुर्याई समाधानका लागि निरन्तर पहल गरिएको, बजार क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउन स्थानीय प्रशासन र सुरक्षा निकायसँग नियमित समन्वय गरिएको तथा व्यवसायीको सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिएको संघको दाबी छ।
स्थानीय उत्पादनको बजारीकरणका लागि बी–टु–बी बजार प्रवर्द्धन कार्यक्रम, विभिन्न व्यापारिक तथा प्रवर्द्धनात्मक गतिविधि सञ्चालन, कृषि, पर्यटन, उद्योग तथा व्यापार क्षेत्रको विकासका लागि स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्म समन्वय र पैरवी गरिएको पनि पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको थियो । ।
संघले विपद् तथा दैवी प्रकोपका बेला प्रभावित व्यवसायी र नागरिकलाई राहत सामग्री वितरण, आवश्यक वस्तुको आपूर्ति व्यवस्थापन तथा मूल्यवृद्धि नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय गरेको जनाएको छ। यस्तै हरियाली प्रवर्द्धन कार्यक्रम सञ्चालन, संघको संस्थागत क्षमता अभिवृद्धि, पूर्वअध्यक्ष तथा अग्रज व्यवसायीको सम्मान, उद्योग–व्यापारमैत्री वातावरण निर्माण र व्यवसायीलाई आवश्यक सूचना तथा परामर्श सेवा विस्तारमा समेत सक्रिय भूमिका खेलेको जनाएको छ।
पत्रकार भेटघाटमा संघका अध्यक्ष विजय सन्तोषी राईले वर्तमान कार्यसमितिले व्यवसायीको हित, स्थानीय अर्थतन्त्रको सुदृढीकरण तथा धनकुटाको समग्र आर्थिक विकासलाई केन्द्रमा राखेर काम गरेको बताए। उनले आगामी दिनमा पनि निर्वाचित समितिले निजी क्षेत्रको नेतृत्वदायी संस्थाका रूपमा व्यवसायीका समस्या समाधान, लगानी प्रवर्द्धन र स्थानीय उत्पादनको बजार विस्तारमा थप प्रभावकारी भूमिका निर्वाह गर्नेमा विस्वास व्यक्त गरे। उनले आफनो कार्यकाललाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पदाधीकारी, सदस्य तथा सहयोगी निकाय र पत्रकारहरुलाई धन्यवाद समेत व्यक्त गरेका छन । संघको आगामी नेतृत्वको लागि निर्वाचन कार्यतालिका प्रकाशनसमेत भइसकेको छ ।
