
२१ साउन,धनकुटा । आर्थिक वर्ष २०८२।०८३ को हालै सम्पन्न वार्षिक समीक्षा कार्यक्रममा उच्च अदालत विराटनगर, धनकुटा इजलासअन्तर्गतका जिल्ला अदालतहरूको कार्यसम्पादन समीक्षा गरिएको थियो । समीक्षा कार्यक्रममा धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभा जिल्ला अदालतका न्यायाधीश तथा रजिस्ट्रारहरूले आ–आफ्नो अदालतको मुद्दा व्यवस्थापन, कार्यसम्पादन, फर्छ्योटको अवस्था र बाँकी मुद्दाको विवरण प्रस्तुत गरेका थिए।
कार्यक्रममा जानकारी दिएअनुसार धनकुटा जिल्ला अदालतले ७५९ मुद्दामध्ये ६५३ मुद्दा फर्छ्योट गर्दै ८६.०३ प्रतिशत फर्छ्योट गरेको छ। अदालतमा हाल १०६ मुद्दा बाँकी रहेका छन्।त्यस्तै,
उच्च अदालत विराटनगर, धनकुटा इजलासले ३६० मुद्दामध्ये ३१० फर्छ्योट गरी ८६.११ प्रतिशत प्रगति हासिल गरेको छ भने ५० मुद्दा बाँकी छन्।
तेह्रथुम जिल्ला अदालतले ३८० मध्ये ३१७ मुद्दा फर्छ्योट गरी ८३.४२ प्रतिशत प्रगति हासिल गरेको छ। ६३ मुद्दा बाँकी छन्।
भोजपुर जिल्ला अदालतले ५२० मध्ये ४२३ मुद्दा फर्छ्योट गर्दै ८१.३४ प्रतिशत फर्छ्योट गरेको छ भने ९७ मुद्दा बाँकी रहेका छन्।
संखुवासभा जिल्ला अदालतले ६५२ मध्ये ४३६ मुद्दा फर्छ्योट गरी ६६.८७ प्रतिशत प्रगति हासिल गरेको छ भने २१६ मुद्दा बाँकी छन्।

समीक्षा कार्यक्रममा अदालतहरूले कार्यसम्पादनका क्रममा भोग्नुपरेका समस्या, चुनौती, कार्यान्वयनका अनुभव तथा आगामी आर्थिक वर्ष २०८३।०८४ का लक्ष्य प्रभावकारी रूपमा हासिल गर्ने विषयमा समेत विस्तृत छलफल गरिएको थियो।
यसैबीच उत्कृष्ट कार्यसम्पादन गर्ने न्यायाधीश तथा कर्मचारीलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा उच्च अदालत विराटनगर, धनकुटा इजलासका माननीय न्यायाधीश मीना गौतम सेडाई , धनकुटा जिल्ला अदालतका जिल्ला न्यायाधीश हरिसचन्द्र इङ्नाम, उच्च अदालतका शाखा अधिकृत दिवेशकुमार श्रेष्ठ र कम्प्युटर अपरेटर धनिकलाल ठाकुररहेका छन्।
