
२० साउन ,धनकुटा । धनकुटा उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति (३ वर्षे कार्यकाल) चयनका लागि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक कार्यतालिकाअनुसार आगामी २०८३ भदौ ६ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने भएको छ।
निर्वाचन समितिका अनुसार साउन २८ गते बिहान १० बजे मतदाता नामावली प्रकाशन गरिनेछ। प्रकाशित नामावलीमाथि साउन २९ गते दिउँसो २ बजेसम्म दाबी–विरोध गर्न सकिने व्यवस्था गरिएको छ। सोही दिन अपराह्न ३ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन आयुक्त विकास प्रधानले जानकारी दिए । उनका अनुसार साउन ३० गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी मनोनयनपत्र वितरण, दिउँसो ३ बजेसम्म मनोनयन दर्ता तथा अपराह्न ४ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। यस्तै, साउन ३१ गते बिहान १० बजेदेखि ११ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध, ११ बजेदेखि १ बजेसम्म उम्मेदवार र निर्वाचन समितिबीच छलफल, दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता तथा अपराह्न ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने उनले जानकारी दिए । सोही दिन साँझ ४ः ३० बजे मतदान नियमावली पनि सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।मतदान सम्पन्न भएपछि मतगणना गरी नतिजा सार्वजनिक गरिने निर्वचन समितिले जनाएको छ ।
१९ सदस्यीय नयाँ कार्यसमिति चयन हुने
निर्वाचनबाट १९ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ। जसअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र उद्योग सदस्यमा एक–एक जना निर्वाचित हुनेछन्।
यस्तै, उपाध्यक्ष पदमा तीन जना (एक महिला अनिवार्य) सदस्य पदमा सात जना (दुई महिला अनिवार्यं) तथा वस्तुगत सदस्यमा तीन जना निर्वाचित हुने व्यवस्था रहेको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिमा विकास प्रधान निर्वाचन आयुक्त तथा खगेन्द्र प्रसाद घिमिरे, दिनेश पौडेल र विदुर खवास सदस्य रहेका छन्।
