
विदुर खवास
१९ साउन, धनकुटा । धनकुटा जिल्ला अदालतले आर्थिक वर्ष २०८२।०८३ मा दर्ता भएका तथा अघिल्लो वर्षबाट जिम्मेवारी सरेका मुद्दामध्ये करिब ८६ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ।
मंगलबार आयोजित ‘सबैका लागि न्याय र सुलभ सेवा ः धनकुटा जिल्ला अदालतको न्यायिक यात्रा’ विषयक सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा अदालतले वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै न्याय सम्पादन, फैसला कार्यान्वयन र आगामी कार्ययोजनाबारे जानकारी दिएको हो। अदालतका अनुसार आर्थिक वर्ष २०८२।०८३ मा कुल ७५९ वटा मुद्दा लगतमा रहेकामा ६५३ वटा मुद्दा फर्छ्योट भएका छन् भने १०६ वटा मुद्दा आगामी वर्षका लागि जिम्मेवारी सरेका छन्। यससँगै अदालतको वार्षिक मुद्दा फर्छ्योट दर ८६ प्रतिशत पुगेको जनाएको छ ।
सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी
गत आर्थिक वर्षमा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका ३५२ वटा मुद्दा दर्ता भएका थिए। तीमध्ये ३२३ वटा फर्छ्योट भई २९ वटा बाँकी रहेका छन्। त्यसैगरी लागूऔषध (गाँजा) सम्बन्धी ३८, लागूऔषध (हेरोइन) १८, अन्य लागूऔषधका १७, जबर्जस्ती करणी ३१, विवाह सम्बन्धी १५, अंश सम्बन्धी ९१, जग्गा सम्बन्धी ११, लेनदेन ७, लिखत बदर ११ र चेक अनादरका १२ वटा मुद्दा दर्ता भएका थिए।
आगामी वर्ष ७२१ मुद्दा रहने अनुमान
अदालतले आर्थिक वर्ष २०८३।०८४ मा १०६ वटा जिम्मेवारी सरेका र ६१५ वटा नयाँ गरी कुल ७२१ वटा मुद्दा रहने अनुमान गरेको छ। तीमध्ये ४७७ वटा मुद्दा फर्छ्योट गर्ने लक्ष्य निर्धारण गरिएको अदालतले जनाएको छ।
फैसला कार्यान्वयनमा पनि उल्लेख्य प्रगति
फैसला कार्यान्वयनतर्फ पनि अदालतले सन्तोषजनक उपलब्धि हासिल गरेको जनाएको छ। यस्तै फैसला कार्यान्वयनका लागि परेका ८८ वटा निवेदनमध्ये ५३ वटा ६०ः २३ प्रतिशत फर्छ्योट गरिएको अदालतले जनाएको छ।
न्यायमा नागरिकको पहुँच विस्तार गर्ने प्रतिबद्धता
कार्यक्रममा जिल्ला न्यादिस हरिसचन्द्र इङ्गनामले नेपालको संविधान, न्यायपालिकाको पाँचौँ रणनीतिक योजना तथा ‘सबैका लागि न्याय’ अभियानअनुसार छिटो, छरितो र जनमुखी न्याय सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।उनले सञ्चारमाध्यमसँग सहकार्य गर्दै न्याय प्रणालीबारे नागरिकलाई सही सूचना प्रवाह गर्ने, अदालतप्रतिको जनविश्वास अभिवृद्धि गर्ने तथा न्यायमा नागरिकको पहुँच विस्तार गर्ने उद्देश्यले यस्ता अन्तरक्रिया कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताएका छन्।
