१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

Radio Khabar Palika

घर होइन, इतिहासको घर : धनकुटामा एक व्यक्तिले जोगाइरहेका दुर्लभ स्मृति र दस्तावेज



  • धनकुटा ६ सिरानबजारका मनोज नारायण श्रेष्ठले तीन दशकदेखि दुर्लभ ऐतिहासिक सामग्री, दस्तावेज र तस्बिर संकलन गर्दै आफ्नै घरलाई निजी संग्रहालयमा रूपान्तरण गरेका छन्। विदेशीले धनकुटाको ढुङ्गे सडकको महत्व देखाइदिएपछि प्रेरित भएका उनले २००७ सालको प्रजातान्त्रिक आन्दोलनसँग सम्बन्धित दुर्लभ भरपाइ, राणाकालीन माटाका पाइप, चन्द्रशमशेरकालीन इँटा, ग्रामोफोन, पुराना रेडियो–टेलिफोन, कृषि औजारलगायत दुई सयभन्दा बढी सामग्री संरक्षण गरेका छन्।
  • संग्रहालयमा शहीद भीमनारायण श्रेष्ठसँग सम्बन्धित कपडा, घडी, चिठीपत्र र व्यक्तिगत सामग्री पनि सुरक्षित राखिएको छ। साथै, २००७ सालको आन्दोलनका क्रममा तत्कालीन नेपाली कांग्रेसका राजनीतिक कमिसार गिरिजाप्रसाद कोइरालाले भरुवा बन्दुक र गोली बुझिएको उल्लेख भएको दुर्लभ भरपाइ यहाँको विशेष आकर्षण बनेको छ।
  • अहिले यो निजी संग्रहालय विद्यार्थी, अनुसन्धानकर्ता र इतिहासप्रेमीहरूको अध्ययन केन्द्र बन्दै गएको छ। धनकुटासम्बन्धी पुस्तक, पत्रपत्रिका र ऐतिहासिक दस्तावेजसमेत संकलन गर्दै आएका श्रेष्ठले निजी पहलबाट जिल्लाको इतिहास र सामूहिक स्मृतिलाई भावी पुस्ताका लागि सुरक्षित राख्ने महत्वपूर्ण काम गरिरहेका छन्।

विदुर खवास

१८ साउन ,धनकुटा । धनकुटा बजारको सिराबजारमा एउटा सामान्य देखिने घर छ । बाहिरबाट हेर्दा त्यो अरू घरभन्दा फरक लाग्दैन । तर भित्र पस्नेबित्तिकै समय करिब एक सय वर्ष पछाडि फर्किन्छ । पुराना ग्रामोफोन, माटाका पाइप, चन्द्रशमशेरकालीन इँटा, आन्दोलनका दस्तावेज, दुर्लभ तस्बिर, पुराना रेडियो–टेलिफोन र एउटा यस्तो भरपाइ जसले नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण अध्यायलाई अझै जीवित राखेको छ । यो कुनै सरकारी संग्रहालय होइन। धनकुटा नगरपालिका–६ सिरान बजारका मनोज नारायण श्रेष्ठले आफ्नै घरलाई तीन दशकको अथक प्रयासपछि इतिहासको जीवित अभिलेखालय बनाएका हुन्।
यहाँ राखिएको हरेक वस्तु एउटा सामान मात्र होइन, एउटा कथा हो। कुनैले पुरानो धनकुटाको जनजीवन सुनाउँछ, कुनैले राणा शासनको समय सम्झाउँछ भने कुनैले लोकतान्त्रिक आन्दोलनको मूल्य सम्झाइरहन्छ ।


विदेशीले देखाएको सम्मानले बदलियो जीवन

मनोज नारायण श्रेष्ठलाई इतिहास संरक्षणको बाटोमा डो¥याउने घटना भने सामान्य थियो ।२०५१ सालतिर उनी जापानी नागरिकहरूसँग काम गर्थे। एक दिन धनकुटाको ढुङ्गे सडक हुँदै यात्रा गर्दा जापानी टोलीले अचानक गाडी रोक्यो। उनीहरू सडकमा बिछ्याइएका पुराना ढुङ्गा नियाल्न थाले। मनोजलाई सुरुमा अचम्म लाग्यो। पछि जापानीहरूले भने, “यो ढुङ्गे सडक पुरातात्त्विक सम्पदा हो। यसलाई जोगाउनुपर्छ।“त्यही क्षण मनोजको सोच बदलियो। “आफ्नो सम्पदाको मूल्य विदेशीले बुझ्ने, हामीले नबुझ्ने किन?“ भन्ने प्रश्नले उनलाई झस्कायो। त्यसै दिन उनले पुराना वस्तु, दस्तावेज र इतिहाससँग जोडिएका सामग्री जोगाउने संकल्प गरे। आज त्यो संकल्प तीन दशकपछि दुई सयभन्दा बढी दुर्लभ सामग्री भएको निजी संग्रहालयमा परिणत भएको छ ।

एउटा भरपाइ, जसले इतिहास बोल्छ
संग्रहालयको सबैभन्दा आकर्षक सामग्रीमध्ये एउटा साधारण देखिने पुरानो कागज हो। यो २००७ सालको प्रजातान्त्रिक आन्दोलनसँग जोडिएको भरपाइ हो, जसमा मनोजका हजुरबुबाबाट तत्कालीन नेपाली कांग्रेसका राजनीतिक कमिसार गिरिजाप्रसाद कोइरालाले एउटा भरुवा बन्दुक र गोली क्रान्तिका लागि बुझिएको उल्लेख छ । क्रान्ति सम्पन्न भयो, तर बन्दुक परिवारमा फर्किएन। बाँकी रह्यो केवल त्यो भरपाइ। आज त्यही कागजले नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा सजीव साक्षीको भूमिका निर्वाह गरिरहेको छ ।

माटाको पाइपदेखि पुरानो धनकुटासम्म
संग्रहालयमा राणा शासनकालमा हिलेबाट धनकुटासम्म खानेपानी ल्याउन प्रयोग गरिएका माटाका पाइप सुरक्षित छन्। चन्द्रशमशेरकालीन इँटा, पुराना निर्माण सामग्री, कृषि औजार, काठ र माटोका भाँडाकुँडा, ग्रामोफोन, रेडियो, टेलिफोन र दैनिक जीवनमा प्रयोग हुने सयौँ सामग्रीले एक समयको सामाजिक जीवनशैलीलाई पुनर्जीवित गर्छन्। भित्ताभरि सजिएका ६०–७० वर्ष पुराना धनकुटाका तस्बिरहरूले शहरको परिवर्तनको इतिहास सुनाइरहेका छन्। अहिलेको आधुनिक धनकुटा र त्यतिबेलाको बस्तीबीचको फरक ती तस्बिरले स्पष्ट देखाउँछन्।

बाबुको सम्झना, इतिहासको सम्पत्ति

मनोजका लागि संग्रहालय केवल पुरातात्त्विक सामग्रीको संग्रह होइन। यो शहीद भीमनारायण श्रेष्ठप्रतिको श्रद्धाञ्जली पनि हो । भीमनारायण श्रेष्ठसँग सम्बन्धित कपडा, घडी, चिठीपत्र, व्यक्तिगत सामग्री र अन्य स्मृतिचिन्हलाई उनले विशेष रूपमा सुरक्षित राखेका छन्। २०३० सालको विराटनगर बमकाण्डपछि पक्राउ परेका भीमनारायण श्रेष्ठलाई विशेष अदालतले मृत्युदण्ड सुनाएको थियो। २०३५ सालमा कोशी टप्पुमा उनलाई गोली हानी मृत्युदण्ड दिइएको थियो । मनोजका लागि ती सामग्री केवल परिवारको सम्झना होइनन्। “व्यक्तिगत स्मृतिलाई जोगाउनु भनेको एउटा युगलाई जोगाउनु हो,“ उनी भन्छन्।

विद्यार्थी र अनुसन्धानकर्ताको अध्ययन केन्द्र

अहिले यो निजी संग्रहालय इतिहासमा रुचि राख्ने विद्यार्थी, अनुसन्धानकर्ता र विभिन्न क्षेत्रका व्यक्तिहरूको आकर्षण बनेको छ । धरान इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरू पुराना वास्तुकला र निर्माण सामग्री अध्ययन गर्न यहाँ आउँछन्। इतिहासका शोधकर्ताहरू धनकुटासम्बन्धी सामग्री खोज्न यही संग्रहालय पुग्ने गरेका छन्। धनकुटाका बारेमा प्रकाशित पुस्तक, पत्रपत्रिका, अनुसन्धान सामग्री र ऐतिहासिक दस्तावेज पनि मनोजले वर्षौँदेखि सङ्कलन गर्दै आएका छन्। उनको भनाइमा, “आज काम नलागेजस्तो लागेका सामग्री नै भोलिको पुस्ताका लागि महत्वपूर्ण प्रमाण बन्न सक्छन्।“

एक व्यक्तिको मौन जिम्मेवारी

नेपालमा इतिहास संरक्षणको जिम्मा प्रायः राज्य वा संस्थाले लिने अपेक्षा गरिन्छ। तर धनकुटामा एउटा व्यक्तिले आफ्नै समय, श्रम र लगानी खर्च गरेर इतिहासलाई जीवित राखिरहेका छन्। उनले संग्रह गरेका सामग्रीले केवल विगतलाई सम्झाएका छैनन्, वर्तमान पुस्तालाई आफ्नो पहिचान बुझ्ने अवसर पनि दिएका छन्। घरको एउटा कोठाबाट सुरु भएको यो प्रयास अहिले धनकुटाको सामूहिक स्मृतिको केन्द्र बन्दै गएको छ । जहाँ कुनै वस्तु मौन छैन। प्रत्येक सामग्रीसँग एउटा कथा छ, प्रत्येक कागजातसँग एउटा इतिहास छ, र प्रत्येक तस्बिरले हराउँदै गएको समयलाई अझै बोलाइरहेको छ।