६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

Radio Khabar Palika

महालक्ष्मीमा दूधबाट गाउँको अर्थतन्त्र बदलिँदै



  • स्थानीय उद्योगबाट मूल्य अभिवृद्धि : नेपाली सेनाबाट अवकाशपछि शिवबहादुर बस्नेतले दुग्ध उद्योग स्थापना गरी कुराउनी, छुर्पी र घिउ उत्पादन गर्दै दैनिक करिब २५० लिटर दूध प्रशोधन गरिरहेका छन्। उत्पादन धनकुटासहित काठमाडौं र संखुवासभासम्म पुग्ने गरेको छ।
  • किसानलाई सुनिश्चित बजार र रोजगारी: उद्योगले गाउँका किसानबाट दूध संकलन गर्दै उनीहरूलाई सहज बजार उपलब्ध गराएको छ। परिवारका सदस्य र स्थानीय युवाले उद्योगमा रोजगारी पाएका छन्, जसले गाउँमै आयआर्जन बढाएको छ।
  • नगरपालिकाको सहकार्य र अनुदान: महालक्ष्मी नगरपालिकाले गाई–भैंसी पकेट क्षेत्र कार्यक्रममार्फत उन्नत पशु, गोठ सुधार, सौर्य प्रणाली तथा अन्य प्रविधिमा ५० प्रतिशत लागत साझेदारीसहित सहयोग गर्दै दुग्ध उत्पादन विस्तारलाई प्राथमिकता दिएको छ।
  • गाउँमै उत्पादनदेखि बजारसम्मको श्रृंखला: दूधको स्थानीय प्रशोधन, मूल्य अभिवृद्धि र बजारीकरणले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाएको छ। शिवबहादुर बस्नेतको उद्योग गाउँमै उद्यम, रोजगारी र कृषि व्यवसायको सफल नमुना बनेको छ।

विदुर खवास

६ साउन, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–३ डाँडागाउँमा बिहान सबेरै शिवबहादुर बस्नेतको दिन दूध संकलनबाट सुरु हुन्छ । गाउँका किसानबाट दूध बटुलेर उद्योगमा ल्याउने, ठूलो भाँडामा उमाल्ने, घण्टौंसम्म चलाएर कुराउनी बनाउने, प्याकेजिङ गर्ने र बजार पठाउने यही दैनिक चक्रले उनको दिन बित्छ । तर उनको यो दिनचर्या केवल एउटा उद्योग सञ्चालनको कथा मात्र होइन, गाउँमै मूल्य अभिवृद्धिसहितको ग्रामीण अर्थतन्त्र निर्माणको उदाहरण पनि हो ।
१७ वर्ष नेपाली सेनामा सेवा गरेर अवकाश पाएपछि बस्नेतले धेरैजसोले रोज्ने सहज बाटो अर्थात् पेन्सनको भरमा बस्ने वा वैदेशिक रोजगारीतर्फ लाग्ने विकल्प छाडे । उनले पुस्तैनी पशुपालनलाई आधुनिक दुग्ध व्यवसायमा रूपान्तरण गर्ने निर्णय गरे । अहिले उनको उद्योगले परिवारसँगै स्थानीय युवालाई रोजगारी दिएको छ भने डाँडागाउँमा उत्पादन हुने कुराउनी धनकुटादेखि काठमाडौं र संखुवासभासम्म पुग्न थालेको छ ।
बस्नेतले आफ्नै फार्ममा उन्नत जातका गाई–भैंसी पाल्नुका साथै गाउँका किसानबाट पनि दूध संकलन गर्छन्। उद्योगमा उनका परिवारका सबै सदस्य सक्रिय छन्। एक छोरा दूध संकलन, प्रशोधन र बजारीकरणमा खटिएका छन् भने श्रीमती र दुई बुहारी उत्पादन प्रक्रियामा सघाउँछन्। केही स्थानीय युवाले पनि यही उद्योगमा रोजगारी पाएका छन्। सुरुमा उनले कुराउनी मात्रै उत्पादन गर्थे। तर दूध उत्पादन बढेपछि सबै दूध कुराउनीमा प्रयोग गर्न नसक्दा बिग्रिने समस्या देखियो। त्यसपछि उनले छुर्पी र घिउ उत्पादन पनि सुरु गरे। अहिले अर्डरअनुसार दैनिक करिब २५० लिटरसम्म दूध प्रशोधन भइरहेको छ। “माग त पर्याप्त छ,” बस्नेत भन्छन्, “तर सडक राम्रो नहुँदा भनेको समयमा सबै ठाउँमा सामान पु¥याउन सकिँदैन।”
हाल प्रतिकिलो ७ सय रुपैयाँमा बिक्री हुने कुराउनीको माग निरन्तर बढिरहेको उनी बताउँछन्। बजार विस्तारसँगै उत्पादन क्षमता पनि बढाउने तयारीमा उनी छन्।

दूध बेच्न भौतारिने किसान अब उद्योगका साझेदार

डाँडागाउँका किसानका लागि बस्नेतको उद्योग केवल दूध बिक्री गर्ने ठाउँ मात्र बनेको छैन, उनीहरूको उत्पादनको सुनिश्चित बजार पनि बनेको छ। पहिले बजार खोज्दै भौतारिनुपर्ने किसान अहिले गाउँमै दूध बिक्री गर्न पाउँछन्। यसले ढुवानी खर्च घटाएको छ भने दूध गाउँमै प्रशोधन भएर थप मूल्य पनि सिर्जना हुन थालेको छ । पशुपालनको सबैभन्दा ठूलो चुनौती मानिने घाँस व्यवस्थापनका लागि बस्नेतले २० रोपनी जग्गामा घाँसखेती गरेका छन्। यसले उद्योगलाई दिगो बनाउन सहयोग पु¥याएको छ।
नगरपालिकाको प्राथमिकतामा दुग्ध उत्पादन
महालक्ष्मी नगरपालिकाले पनि दुग्ध उत्पादनलाई कृषि विकासको मुख्य आधारका रूपमा अघि बढाइरहेको छ । नगरपालिकाले संघ र प्रदेश सरकारको सहकार्यमा वडा नम्बर १, ३ र ६ लाई गाई–भैंसी पकेट क्षेत्र घोषणा गरी किसानलाई लागत साझेदारीमा उन्नत पशु वितरण गर्दै आएको छ । नगर प्रमुख ध्रुवराज रायमाझीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा वडा नम्बर १ का २५ किसान परिवारलाई ५० प्रतिशत लागत साझेदारीमा उन्नत गाई वितरण गरिएको थियो। त्यसपछि आर्थिक वर्ष २०८१/८२ मा वडा नम्बर ६ का ५० किसानलाई ५० वटा भैंसी उपलब्ध गराइयो। चालु आर्थिक वर्षमा पनि वडा नम्बर ३ डाँडागाउँका २५ किसानलाई जनही एक लाख रुपैयाँका दरले उन्नत गाई खरिद तथा गोठ सुधारका लागि अनुदान उपलब्ध गराइएको छ । किसानले पनि ५० प्रतिशत लागत साझेदारी गरेका छन्। बस्नेतका अनुसार नगरपालिकाबाट प्राप्त सहयोगले व्यवसाय विस्तार गर्न सहज भएको छ। “गाई खरिद, गोठ सुधार र अन्य प्रविधिगत सहयोगले उद्योगलाई थप व्यवस्थित बनाउन मद्दत पुगेको छ,” उनले भने स्थानीय किसान रञ्जिता बस्नेतले पनि गाई पकेट कार्यक्रममार्फत गाई खरिद, गोठ सुधार, घाँस काट्ने च्याप कटर मेसिन र अन्य सामग्रीमा सहयोग पाएको बताइन्। नगर प्रमुख रायमाझीका अनुसार उत्पादन लागत घटाउन किसानलाई खोले पकाउने तथा पानी तताउने सौर्य प्रणालीसमेत वितरण गरिएको छ। “जहाँ जुन कृषि सम्भावना छ, त्यही क्षेत्रमा लगानी केन्द्रित गर्ने हाम्रो नीति हो,” उनले भने, “उत्पादन बढाउने किसानलाई नगरपालिकाले निरन्तर साथ दिन्छ।”

उत्पादनदेखि प्रशोधनसम्म गाउँमै
महालक्ष्मीका घुमाउने, मूर्तिढुंगा, मारेक र कटहरे क्षेत्र पशुपालन र तरकारी उत्पादनका मुख्य क्षेत्र मानिन्छन्। वडा नम्बर ५ को मेलाङचुङमा बेसार खेती र घुमाउने तथा मूर्तिढुंगामा तरकारी पकेट कार्यक्रम सञ्चालनमा छन्। वडा नम्बर ६ लाई भैंसी र वडा नम्बर ३ लाई गाई पकेट क्षेत्रका रूपमा थप विकास गर्ने योजना नगरपालिकाले बनाएको छ।
महालक्ष्मीमा अहिले दूध उत्पादन मात्र बढेको छैन, त्यसको प्रशोधन, मूल्य अभिवृद्धि र बजारीकरणको श्रृंखला पनि विस्तार हुँदै गएको छ। गाउँमै उद्योग स्थापना भएपछि किसानले उत्पादन गरेको दूध स्थानीय स्तरमै प्रशोधन हुन थालेको छ । यसले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने आधार तयार गरिरहेको छ । डाँडागाउँका शिवबहादुर बस्नेतको उद्योग त्यसैको एउटा सफल उदाहरण बनेको छ जहाँ दूध केवल बेचिने वस्तु होइन, गाउँको समृद्धिको आधार बन्दै गएको छ।