
३ साउन, धनकुटा । नेवार समुदायको मौलिक कला, संस्कृति तथा परम्परागत धिमेबाजाको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले धनकुटा नगरपालिकामा एकमहिने नेवा धिमेबाजा प्रशिक्षण कार्यक्रम सुरु भएको छ।
नेवास् सृजनशील महिला समूह, धनकुटा–७ को आयोजनामा सञ्चालन भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन आईतबार सम्पन्न भएको हो। कला संस्कृतिको जगेर्ना गरौंू भन्ने मूल नारासहित सञ्चालन गरिएको प्रशिक्षण साउन ३ देखि भदौ २ गतेसम्म चल्नेछ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल आदिवासी जनजाति महासङ्घ धनकुटाका अध्यक्ष नवीन शाक्यले धिमेबाजा नेवार समुदायको मौलिक सांस्कृतिक पहिचान भएकाले यसको संरक्षणका लागि यस्ता प्रशिक्षण प्रभावकारी हुने बताए । उनले प्रशिक्षणले सहभागीलाई धिमेबाजा बजाउने सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गर्ने विश्वास व्यक्त गरे । विशेष अतिथि नेवा मिसादबु धनकुटाका अध्यक्ष संगीता श्रेष्ठले लोपोन्मुख बन्दै गएको नेवार सांस्कृतिक बाजाको संरक्षण र प्रवर्द्धनका साथै युवापुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्पराप्रति आकर्षित गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।समाजकल्याण संस्थाका अध्यक्ष सुनिल डंगोलले स्थानीय कला, संस्कृति र सांस्कृतिक पहिचानको संरक्षणमा यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गरे ।
नेवास् सृजनशील महिला समूहकी अध्यक्ष रेजिना पालिखेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले प्रशिक्षणमार्फत नयाँ पुस्तामा धिमेबाजा बजाउने सीप विकास गर्दै नेवार समुदायको सांस्कृतिक सम्पदाको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे। आयोजकका अनुसार प्रशिक्षणमा स्थानीय युवायुवतीको सहभागिता रहेको छ। एक महिनासम्म सञ्चालन हुने प्रशिक्षणमा धिमेबाजा बजाउने सैद्धान्तिक ज्ञानसँगै नियमित व्यावहारिक अभ्याससमेत गराइनेछ।


