
विदुर खवास
३२ असार,धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा सञ्चालन हुने भनिएको फलफूल बगैंचा विस्तार कार्यक्रम ठेक्का विवादका कारण प्रभावित भएको छ। किसानलाई वितरण गरिने फलफूलका बिरुवा सम्झौताअनुसार उपलब्ध नभएपछि नगरपालिकाले १४ लाख रुपैयाँको ठेक्का रद्द गरेसँगै १ हजार १ सय किसान प्रत्यक्ष प्रभावित भएका छन्।
सङ्घीय सरकारको ७५ लाख रुपैयाँ विशेष अनुदानअन्तर्गत १० वटै वडामा बगैंचा विस्तार गर्ने योजना थियो। सोही कार्यक्रमअन्तर्गत आँप, लिची, केरा, अम्बा र मेवाका ३८ हजार बिरुवा खरिदका लागि रौतहटको चन्द्रपुर–५ स्थित हरिओम हाइटेक कृषि नर्सरी फार्मसँग मूल्य अभिवृद्धि करसहित १४ लाख रुपैयाँमा सम्झौता गरिएको थियो। तर तोकिएको समयभित्र आवश्यक परिमाण र गुणस्तरका बिरुवा उपलब्ध नभएको भन्दै नगरपालिकाले सम्झौता रद्द गरेको जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत सुनिल पौडेलका अनुसार आपूर्तिकर्तालाई पटक–पटक मौखिक तथा लिखित रूपमा ताकेता गरिए पनि सम्झौताअनुसार काम नभएपछि ठेक्का रद्द गर्नुपरेको हो।

नगरपालिकाले यसअघि ल्याइएका बिरुवासमेत तीन दिनभित्र कार्यालय परिसरबाट फिर्ता लैजान कम्पनीलाई निर्देशन दिएको छ। कृषि शाखा प्रमुख इन्द्रमाया तामाङले सम्झौताका सर्त पूरा नभएकाले गुणस्तरहीन बिरुवाको भुक्तानी गर्न नसकिने स्पष्ट पारिन्। यता, आपूर्तिकर्ता कम्पनीले भने नगरपालिकाको दाबी अस्वीकार गरेको छ। हरिओम हाइटेक कृषि नर्सरी फार्मका सञ्चालक हरिओम बानियाले सम्झौताअनुसारका स्वस्थ बिरुवा पहिलो खेपमै उपलब्ध गराइसकेको दाबी गर्दै नगरपालिकाले समयमै वितरण नगर्दा बिरुवा ओइलिएको बताएका छन्। नगरपालिकाको लापरबाहीका कारण आफूले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको भन्दै उनले सम्पूर्ण भुक्तानी दिनुपर्ने माग गरेका छन्।
ठेक्का रद्द भएसँगै यस वर्ष फलफूलका नयाँ बिरुवा पाउने आशामा आवेदन दिएका १ हजार १ सय किसान अन्योलमा परेका छन्। यद्यपि विशेष अनुदानअन्तर्गतका प्लास्टिक टनेल, पोखरी निर्माण तथा एभोकाडो, कागती, सुन्तला र जुनारका बिरुवा वितरण कार्यक्रम भने सम्पन्न भएको कृषि शाखाले जनाएको छ। यस घटनाले सार्वजनिक खरिद प्रक्रिया, आपूर्ति व्यवस्थापन र कृषि कार्यक्रमको प्रभावकारी कार्यान्वयनबारे प्रश्नसमेत उठाएको छ।

