२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

Radio Khabar Palika

बाँदर आतंकपछि परम्परागत बालीबाट नगदे खेतीतर्फ किसानको यात्रा



  • विज्ञहरूले खेती परिवर्तन मात्र पर्याप्त नभएको उल्लेख गर्दै वन्यजन्तु व्यवस्थापन, कृषि बीमा, प्रशोधन उद्योग, ब्रान्डिङ, बजार सुनिश्चितता, मूल्य स्थिरीकरण र दीर्घकालीन कृषि नीतिलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
  • साँगुरीगढी गाउँपालिकामा अदुवा–बेसार खेती र मौरीपालन सफल बन्दै गएको छ भने छथर जोरपाटी गाउँपालिकामा माछापालनसँगै अदुवा र अकबरे खुर्सानी खेती विस्तार हुँदै बाँदरबाट हुने क्षति कम गरिएको छ।
  • मिलाङचुङका करिब २० परिवारले व्यावसायिक बेसार खेती गर्दै वार्षिक ८०० क्विन्टलभन्दा बढी उत्पादन गरिरहेका छन्। महालक्ष्मी नगरपालिकाले यस क्षेत्रलाई बेसार पकेट क्षेत्र घोषणा गरी बीउ, प्राविधिक सहयोग र कृषि सामग्री उपलब्ध गराउँदै आएको छ।
  • धनकुटाको महालक्ष्मी नगरपालिका–५ मिलाङचुङका किसानले बाँदरबाट बारम्बार हुने क्षतिका कारण मकै, धान, टमाटर र प्याजजस्ता परम्परागत बाली छाडेर बेसार, अदुवा, अकबरे खुर्सानी र भुइँकटहरजस्ता नगदे बालीतर्फ आकर्षित भएका छन्।

विदुर खवास


२९ असार, धनकुटा । धनकुटाको पहाडी गाउँमा पहिले असार लागेपछि खेतबारी हरियालीले भरिन्थे । मकैका बोट, धानका बिउबारी, टमाटर र प्याजका बगैंचा किसानको आशा हुन्थे । तर अहिले त्यही खेतमा बेसार खेति , अदुवाका बोट, अकबरे खुर्सानी र भुइँकटहरले ठाउँ लिएका छन्।
यो परिवर्तन रहरले होइन, बाध्यताले आएको हो । बाँदरको निरन्तर आतंकले किसानलाई दशकौँदेखि गर्दै आएको खेती छाडेर नयाँ विकल्प रोज्न बाध्य बनाएको हो । धनकुटाको महालक्ष्मी नगरपालिका–५ मिलाङचुङ अहिले यसको ज्वलन्त उदाहरण बनेको छ । यहाँका किसानले बाँदरले नखाने बाली रोज्न थालेपछि गाउँको कृषि प्रणाली नै परिवर्तन भएको छ ।

बाँदरसँगको हार पछि किसान लागे बेसार खेतितर्फ

तीन वर्षअघि किसान चमकबहादुर कुँवरको मुख्य आम्दानी टमाटर, प्याज र मकै थियो। तर बाली पाक्ने बेला बाँदरका हुल खेतमा पस्दा महिनौँको मेहनत केही घण्टामै नष्ट हुन्थ्यो ।बारम्बारको क्षतिपछि उनले खेतीको दिशा नै परिवर्तन गरे । अहिले उनी करिब १० रोपनीमा व्यावसायिक बेसार खेती गरिरहेका छन्। उनका अनुसार अहिले खेत कुर्नुपर्ने बाध्यता हटेको छ। उत्पादन सुरक्षित छ र आम्दानी पनि पहिलेभन्दा स्थिर बनेको छ।
पूरै गाउँको कृषि प्रणाली फेरियो


चमकबहादुर मात्र होइन, मिलाङचुङका करिब २० परिवारले अहिले बेसार खेतीलाई मुख्य नगदे बाली बनाएका छन्। गाउँबाट वार्षिक ८०० क्विन्टलभन्दा बढी बेसार उत्पादन हुन थालेको महालक्ष्मी नगरपालिकाका प्रमुख धुव्रराज रायाले जानकारी दिए । पहिले घरायसी प्रयोगका लागि सीमित मात्रामा लगाइने बेसार अहिले व्यावसायिक उत्पादनमा रूपान्तरण भएको छ । बाँदरले क्षति नगर्ने भएकाले पनि किसानलाई यसतर्फ आकर्षित गरेको उनको भनाई छ । स्थानीय किसान पुनम पौडेलका अनुसार बेसारमा श्रम कम लाग्ने, धेरै गोडमेल गर्न नपर्ने, पानीको आवश्यकता कम हुने र बजारसमेत सहज भएकाले किसानको रोजाइ बनेको छ।

नगरपालिकाले पनि बदल्यो प्राथमिकता


किसानको यही परिवर्तनलाई संस्थागत गर्न महालक्ष्मी नगरपालिकाले मिलाङचुङलाई गत वर्ष बेसार पकेट क्षेत्र घोषणा गरेको छ । उन्नत बीउ, प्राविधिक सहयोग र आवश्यक कृषि सामग्री उपलब्ध गराउँदै स्थानीय सरकारले नगदे खेतीलाई प्रोत्साहन गरिरहेको नगरप्रमुख धुब्रराज रायाले जानकारी दिए । नगर प्रमुख रायका अनुसार बाँदरको समस्यालाई चुनौतीका रूपमा लिएर स्थानीय स्रोत अनुकूल खेती विस्तार गर्ने नीति नगरपालिकाले अपनाएको छ ।
बजार राम्रो, तर जोखिम पनि उत्तिकै


कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगरका अनुसार जमिनमुनि उत्पादन हुने बेसार, अदुवा जस्ता बालीमा बाँदरको क्षति न्यून हुने भएकाले किसानको आकर्षण बढेको हो। यदि सबै किसान एउटै बालीमा केन्द्रित भए केही वर्षपछि उत्पादन अत्यधिक बढेर मूल्य घट्न सक्छ। त्यसैले उत्पादनसँगै प्रशोधन, ब्रान्डिङ, भण्डारण र बजारीकरणमा लगानी गर्नुपर्ने उनको सुझाव छ । अहिले काँचो बेसार प्रतिकिलो करिब ५० रुपैयाँमा बिक्री हुन्छ भने प्रशोधनपछि यसको मूल्य पाँच गुणासम्म बढ्ने गरेको किसान बताउँछन्।


साँगुरीगढीको अनुभवले देखायो सम्भावना

साँगुरीगढी गाउँपालिका–९ र १० का आहाले, हर्दिया र खार्पाङ क्षेत्रमा भने वर्षौँदेखि अदुवा र बेसार खेती हुँदै आएको छ । धरान बजार नजिक भएकाले उत्पादन बिक्री गर्न सहज छ। स्थानीय किसानका अनुसार बाँदरको समस्या भए पनि अदुवा, बेसार र मौरीपालनमा खासै असर परेको छैन। यसले स्थानीय भौगोलिक अवस्था र बजारलाई ध्यानमा राखेर खेती छनोट गर्दा वन्यजन्तुको क्षति पनि कम गर्न सकिने गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले जानकारी दिए ।

कतै माछापालन, कतै खुर्सानी


धनकुटाकै छथर जोरपाटी गाउँपालिका–१ माक्लुङका किसानले भने अर्को बाटो रोजेका छन्। यहाँ पाँच हेक्टरभन्दा बढी क्षेत्रफलमा पोखरी निर्माण गरेर व्यावसायिक माछापालन भइरहेको छ। किसानका अनुसार चरा वा सर्पबाट सामान्य क्षति भए पनि बाँदरले माछापालनमा ठूलो असर गर्दैन । यससँगै तल्लो भेगमा अदुवा र अकबरे खुर्सानी खेती पनि विस्तार हुँदै गएको गाउँपालिका अध्यक्ष छत्र बहादुर सुब्बाले जानकारी दिए ।

default

धनकुटाका धेरै गाउँमा अहिले बाँदरले नष्ट गर्ने खेतीको स्वरूप नै बदलिदिएको छ । किसानले परिस्थिति अनुसार आफूलाई अनुकूल बनाउदै लगेको स्थानीयले बताएका छन । तर विज्ञहरूका अनुसार खेती परिवर्तन मात्रै दीर्घकालीन समाधान नभएको सुझाव दिनछन । वन्यजन्तु व्यवस्थापन, कृषि बीमा, प्रशोधन उद्योग, बजार सुनिश्चितता, मूल्य स्थिरीकरण र स्थानीय तहको दीर्घकालीन कृषि नीति एकसाथ अघि बढाउन सके मात्रै किसानको भविष्य सुरक्षित हुनेछ । अहिलेका लागि भने धनकुटाका धेरै किसानले एउटा पाठ सिकेका छन बाँदरले बाली खोसे पनि अवसर भने खोस्न सकेन । त्यसैले उनीहरूले खेती मात्र होइन, सोच पनि परिवर्तन गरेका गर्दै लगेको स्थानीय जानकारहरु बताउछन ।