२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

Radio Khabar Palika

धनकुटामा ‘दीगो तथा सम्मानित रोजगारीका लागि सीप’ परियोजनाको समीक्षा, सीपलाई उद्यम र रोजगारीसँग जोड्न सुझाव



विदुर खवास

२३ असार, धनकुटा । धनकुटा नगरपालिकाले आर्थिक वर्ष २०८२र०८३ मा सञ्चालन गरेको दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना अन्तर्गत सम्पन्न कार्यक्रमहरूको समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा परियोजनाअन्तर्गत हासिल भएका उपलब्धि, कार्यान्वयनका चुनौती, सीपमूलक तालिमको प्रभावकारिता, रोजगारी तथा उद्यमशीलताको अवस्था र आगामी कार्यदिशाबारे विस्तृत छलफल गरिएको थियो।धनकुटा नगरपालिका आर्थिक विकास शाखाका प्रमुख विकास अधिकारीका अनुसार कार्यक्रममा नगरपालिकाले सञ्चालन गरेका विभिन्न सीपमूलक तालिमको उपलब्धि, तालिमपछि प्रशिक्षार्थीहरूको रोजगारी तथा स्वरोजगारको अवस्था, उद्यम विकासका सम्भावना तथा परियोजनाको समग्र प्रभावकारिताको समीक्षा गरिएको हो।

अन्तरक्रियामा सहभागीहरूले सीप विकास कार्यक्रमलाई स्थानीय उत्पादन, उद्यमशीलता र रोजगारीसँग अझ प्रभावकारी रूपमा जोड्नुपर्ने आवश्यकता औंल्याएका थिए। उनीहरूले तालिमपछि व्यवसाय सञ्चालनका लागि आवश्यक सहजीकरण, वित्तीय पहुँच र बजारीकरणमा नगरपालिकाले थप सहयोग गर्नुपर्ने सुझाव दिएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चिन्तन तामाङले स्थानीय युवालाई सीपयुक्त, आत्मनिर्भर र उद्यमशील बनाउँदै दीगो रोजगारी सिर्जना गर्नु नगरपालिकाको मुख्य उद्देश्य रहेको बताए। उनले सीप विकासका कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी बनाउँदै स्थानीय आवश्यकता र बजारको मागअनुसार सञ्चालन गरिने उल्लेख गरे । कार्यक्रममा नगर प्रमुख चिन्तन तामाङ, उपप्रमुख भीदेवी खनाल, विभिन्न वडाका वडाध्यक्षहरू, विद्यालयका प्रधानाध्यापकहरू, पत्रकार, उद्योगी–व्यवसायी, तालिममा उत्तीर्ण प्रशिक्षार्थी, नगरपालिकाका कर्मचारी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।