
२० असार, धनकुटा। धनकुटामा नेपाली कांग्रेसले एकैपटक पूर्व संविधानसभा सदस्यदेखि प्रदेश, क्षेत्रीय र क्रियाशील सदस्यसम्मका १९ जना नेताकार्यकर्ता गुमाएको छ।
दोस्रो संविधानसभामा नेपाली कांग्रेसको समानुपातिकतर्फबाट सदस्य रह]की तथा कांग्रेस महासमिति सदस्य अञ्जना ताम्ली र कांग्रेस कोशी प्रदेश सदस्य मिना राईले केन्द्रीय समितिलाई पार्टी परित्यागको पत्र बुझाउँदै आफूहरू पार्टीमा बसेर काम गर्ने वातावरण नरहेको र पछिल्ला समयका वैचारिक मतभेदका कारण यस्तो निर्णय गर्नुपरेको बताएका छन्।
उनीहरूसँगै क्षेत्रीय सदस्य युवेन तुम्बा, क्षेत्रीय प्रतिनिधि राजकुमारी राई तथा क्रियाशील सदस्यहरू भोलामान ताम्ली, कृष्ण लिम्बु, जितबहादुर याख्या, भुपाल तुम्बा, देव ताम्ली, सोनी लिम्बु, टंक ताम्ली, चन्द्रकला तुम्बा, इन्द्र तुम्बा, विष्णुभक्त लिंखा, प्रविणा तुम्बा, सुजन लिम्बु, धनबहादुर तुम्बा, उदयबहादुर तेयुङ र सुरेन तुम्बा पनि कांग्रेस परित्याग गरेका छन्।
पार्टी छाड्ने निर्णयबारे प्रतिक्रिया दिँदै पूर्व संविधानसभा सदस्य अञ्जना ताम्लीले वर्तमान अवस्थामा आफू पार्टीभित्र अटाउन नसकेको बताइन । उनका अनुसार समयको परिवर्तनसँगै पार्टीभित्र आफ्नो भूमिका सीमित भएको अनुभूति भएको र आफूलाई साथ दिने नेता तथा कार्यकर्ताहरूबाट समेत पार्टी छाड्न दबाब परेको थियो।
ताम्लीले पार्टीभित्र ‘दास र लास’ को राजनीतिक संस्कृतिमा आफू बस्न नसक्ने उल्लेख गर्दै कांग्रेस नेता गगन थापाले सार्वजनिक रूपमा उठाउँदै आएको राजनीतिक संस्कृतिसम्बन्धी बहसलाई पनि आफ्नो निर्णयसँग जाेडेकी छन । पार्टी परित्याग गरेका नेताहरूले तत्काल कुन दलमा आबद्ध हुने भन्नेबारे सार्वजनिक गरेका छैनन्। यद्यपि उनीहरू हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा जाने चर्चा राजनीतिक वृत्तमा चल्न थालेको छ। यस विषयमा भने सम्बन्धित नेताहरूले औपचारिक पुष्टि गरेका छैनन्। स्थानीय तहको निर्वाचनपछि धनकुटामा कांग्रेसभित्र देखिएको असन्तुष्टि यस घटनासँगै थप प्रस्ट भएको राजनीतिक विश्लेषकहरूको भनाइ छ। आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लाको शक्ति सन्तुलनमा समेत यस घटनाले प्रभाव पार्न सक्ने आकलन गरिएको छ।

