११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

Radio Khabar Palika

धनकुटाका ६ स्थानीय तहले ल्याए बजेट



११ असार धनकुटा । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याएका छन्।
जिल्लाका सात स्थानीय तहमध्ये धनकुटा नगरपालिका, सहिदभूमि गाउँपालिका, महालक्ष्मी नगरपालिका, पाख्रिबास नगरपालिका, चौविसे गाउँपालिका र साँगुरीगढी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्। छथर जोरपाटी गाउँपालिकाले भने गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बा काठमाडौं जानुपरेका कारण बजेट पेश गर्न नसकिएको जनाएको छ।
बजेटको आकारका आधारमा धनकुटा नगरपालिका सबैभन्दा अगाडि देखिएको छ। नगरपालिकाले ७६ करोड ८६ लाख २३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। त्यसपछि महालक्ष्मी नगरपालिकाले ६५ करोड २३ लाख ९३ हजार, पाख्रिबास नगरपालिकाले ६१ करोड ३७ लाख ७६ हजार ९ सय ९७, साँगुरीगढी गाउँपालिकाले ५९ करोड १९ लाख ४६ हजार, चौविसे गाउँपालिकाले ५५ करोड ८८ लाख ९९ हजार ४ सय ४५ तथा सहिदभूमि गाउँपालिकाले ४७ करोड ९५ लाख ९२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन्।
स्थानीय तहहरूले आफ्नो आवश्यकता र प्राथमिकता अनुसार बजेट विनियोजन गरेका छन्। महालक्ष्मी नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिएको जनाएको छ। पाख्रिबास नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारसँगै अपाङ्गता रोकथाम, विपन्न परिवारका लागि उपचार तथा मलामी खर्च सहयोग कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ।
चौविसे गाउँपालिकाले कृषि, शिक्षा र पूर्वाधारलाई केन्द्रमा राखेर बजेट ल्याएको छ भने साँगुरीगढी गाउँपालिकाले आर्थिक विकास, सामाजिक विकास र पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा समेटेको जनाएको छ।
जिल्लाका अधिकांश स्थानीय तहले कानुनी समयसीमाभित्र बजेट ल्याए पनि छथर जोरपाटी गाउँपालिकाको ढिलाइले स्थानीय सरकारको योजना कार्यान्वयन र बजेट प्रक्रियामा प्रश्न उठाएको छ। अब गाउँपालिकाले कहिले बजेट प्रस्तुत गर्छ भन्ने चासो स्थानीयवासीमा बढेको छ।