
२६ वर्षअघि जनश्रमदानबाट खोलिएको चोक्रोक–भिरगाउँ–मधुगंगा सडकमा विश्व बैंकको ३६ करोड लगानी, ढुवानी लागत घट्ने र पर्यटक आगमन बढ्ने अपेक्षा
विदुर खवास

३१ जेठ, धनकुटा । धनकुटा नगरपालिकाको ग्रामीण क्षेत्रमा उत्पादन हुने तरकारी, दूध तथा कृषि उपज सहज रूपमा बजार पुग्ने अपेक्षा गरिएको छ। २६ वर्षअघि स्थानीयवासीको जनश्रमदानबाट खोलिएको हिले–चोक्रोक–भिरगाउँ–मधुगंगा सडक अहिले कालोपत्रे हुन थालेपछि किसान र स्थानीय व्यवसायी उत्साहित बनेका छन्।
विश्व बैंकको ३६ करोड रुपैयाँ अनुदान सहयोगमा निर्माण भइरहेको ७।३ किलोमिटर सडकको अधिकांश भागमा कालोपत्रेको काम तीव्र गतिमा अघि बढिरहेको छ। सडक सञ्चालनमा आएपछि उत्पादन ढुवानीमा लाग्ने समय र लागत दुवै घट्ने विश्वास स्थानीय कृषकहरूको छ।
भिरगाउँ क्षेत्र गाजर उत्पादनका लागि परिचित छ। धनकुटा नगरपालिकाले यस क्षेत्रलाई गाजर उत्पादन पकेट क्षेत्र घोषणा गरेको छ। यहाँ आलु, मुला, हरियो तरकारी तथा दुग्ध उत्पादन पनि उल्लेख्य मात्रामा हुने गरेको छ। तर वर्षायाममा कच्ची सडकका कारण कृषकले उत्पादन बजारसम्म पुर्याउन कठिनाइ भोग्दै आएका थिए। स्थानीय कृषक फुर्वा तामाङका अनुसार सडक कालोपत्रे भएपछि कृषि उत्पादन बिक्री वितरणमा ठूलो सहजता आउनेछ। “पहिले हिलो र धुलोका कारण बजारसम्म पुग्नै समस्या हुन्थ्यो। अब उत्पादन समयमै बजार पुर्याउन सकिने भएको छ,” उनले भने।
धनकुटा नगरपालिका–२ का वडा अध्यक्ष चन्द्रलाल तामाङले सडक सुधारसँगै किसानले उत्पादनको उचित मूल्य पाउने सम्भावना बढेको बताए। उनका अनुसार नगरपालिकाले बिउ, प्राविधिक परामर्श र कृषि सामग्री उपलब्ध गराउँदै आएको छ भने सडक पूर्वाधारले त्यसको प्रत्यक्ष लाभ किसानसम्म पुर्याउनेछ। सडकले कृषि क्षेत्रलाई मात्र होइन, धार्मिक पर्यटनलाई समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ। धार्मिक तथा पर्यटकीय महत्व बोकेको मधुगंगा धामसम्म पुग्न सहज हुने भएपछि आन्तरिक पर्यटकको संख्या बढ्ने अनुमान गरिएको छ। यसबाट स्थानीय होटल, पसल तथा अन्य साना व्यवसायले समेत लाभ लिन सक्नेछन्।
धनकुटा नगरपालिकाका प्रशासन, योजना तथा अनुगमन अधिकृत सीताराम गौतमका अनुसार हाल ३।३ किलोमिटर सडक ढलान गरिएको छ भने बाँकी भागमा अस्फाल्ट कालोपत्रे भइरहेको छ। मौसमले साथ दिए आगामी असार पहिलो साताभित्र कालोपत्रे सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए।
२०५७ सालमा स्थानीयवासीले ९६ दिनसम्म जनश्रमदान गरेर ट्र्याक खोलेको यो सडक अहिले आधुनिक स्वरूपमा रूपान्तरण हुँदै गर्दा स्थानीयले दशकौँदेखिको सपना पूरा हुन लागेको अनुभूति गरेका छन्। सडक पूर्ण सञ्चालनमा आएपछि धनकुटा नगरपालिकाका ग्रामीण बस्ती मात्र होइन, छथर जोरपाटी गाउँपालिकाका तेलिया, ताङ्खुवा लगायतका क्षेत्रको यातायात पहुँचसमेत थप सहज हुने अपेक्षा गरिएको छ।

