
विदुर खवास
- धनकुटाको ऐतिहासिक शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १८औँ संस्करण तल्लो टुँडिखेलमा हुने भएको छ । नेपालका विभिन्न चर्चित क्लब र भारतको कालिम्पोङबाट एक टोली सहभागी हुनेछन् । विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
- प्रतियोगिता सञ्चालनका लागि करिब ४५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । धनकुटा नगरपालिका मुख्य सहयोगी रहेको प्रतियोगितामा निजी तथा संस्थागत क्षेत्रको समेत सहयोग रहने आयोजकले जनाएको छ ।
- प्रतियोगितालाई सफल बनाउन खेल मात्रै नभई आय–व्यय सार्वजनिक गर्ने अभ्यास, खेलाडी तथा दर्शक व्यवस्थापन, सुरक्षा, टिकट प्रणाली र स्थानीय लाभ सुनिश्चित गर्नुपर्ने माग स्थानीय खेलप्रेमीले गरेका छन् । भीमनारायण गोल्डकपले यस वर्ष सुशासन र उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
७ जेठ, धनकुटा । धनकुटामा लामो इतिहास बोकेको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता यो बर्षपनि सञ्चालन हुने भएको छ । शहीद भीमनारायण स्मृति प्रतिष्ठानले बिहीबार पत्रकार सम्मेलन गर्दै १८ औँ संस्करणको प्रतियोगिता जेठ १० देखि १६ गतेसम्म धनकुटा–५ स्थित तल्लो टुँडिखेल खेलमैदानमा सञ्चालन हुने जानकारी दिएको हो ।
प्रतियोगितामा नेपालका चर्चित क्लबहरूसँगै भारतको कालिम्पोङबाट एक टोलीको सहभागिता रहने जनाइएको छ । यसपटकको प्रतियोगितामा आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटासहित बिर्तामोड युनाइटेड फुटबल क्लब झापा, राष्ट्रिय जागृति क्लब इटहरी सुनसरी, बेलबारी फुटबल क्लब मोरङ सहभागी हुनेछन् । त्यस्तै, गाईघाट युनाइटेड फुटबल क्लब उदयपुर, सहलेश युवा क्लब सिराहा, सातदोबाटो युथ क्लब ललितपुर र जर्जियन फुटबल क्लब कालिङपोङ भारतको सहभागिता रहने आयोजक समितिका संयोजक शम्भु प्रधानले बताए । विगतको वर्ष पुरस्कार राशि पाँच लाख रहेको भए पनि यसपटक वृद्धि गरेर विजेताले ६ लाख नगद प्राप्त गर्ने आयोजकले बताएको छ भने उपविजेताले नगद तीन लाख प्राप्त गर्नेछन्। यसपटकको संस्करण सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले बताए ।
धनकुटा नगरपालिका मुख्य सहयोगी रहेको उक्त प्रतियोगिताको प्रायोजकमा एक्स्ट्रिम इनर्जी ड्रिंक, सहप्रायोजकमा श्रीकृष्ण फर्निचर एन्ड फ्लोरिङ सप्लायर्स धनकुटा–७, एन पेनाङ फुटबल क्लब मलेसिया, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड कटरी मोरङ, सुनौलो जीवन सुधार केन्द्र धनकुटा, सल्भ नेपाल धनकुटा, नेपाल टेलिकम धनकुटालगायत रहेका छन् । जेठ १० गतेदेखि १६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता सञ्चालन गर्नको लागि अनुमानित ४५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
धनकुटामा खेल संस्कृतिको पहिचान बनाउँदै आएको यो प्रतियोगिता खेलप्रेमीका लागि उत्साहको विषय बनेको छ । तर अहिलेको समयमा खेल आयोजना मात्र नभई त्यसको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिताले पनि उत्तिकै महत्व राख्छ ।पछिल्ला वर्षहरूमा विभिन्न खेल प्रतियोगितामा ठूलो बजेट, चन्दा तथा सहयोग संकलन भए पनि त्यसको आय–व्यय विवरण सार्वजनिक गर्ने अभ्यास कमजोर रहेको गुनासो सुनिने गरेको छ । त्यसैले प्रतियोगिता सफल हुन दर्शकको उपस्थितिमात्र पर्याप्त नहुने स्थानीयको धारणा छ । आय–व्ययको स्पष्ट विवरण, खेलाडी व्यवस्थापन, सुरक्षा व्यवस्था, टिकट प्रणाली, मैदानको गुणस्तर तथा स्थानीय समुदायले पाउने प्रत्यक्ष लाभलाई पनि उत्तिकै महत्वपूर्ण रूपमा हेरिएको छ । आयोजकले पत्रकार सम्मेलनमार्फत तयारी सार्वजनिक गरे पनि स्थानीय खेलप्रेमीहरूले प्रतियोगिता सम्पन्न भएपछि प्रतिवेदनसहित आर्थिक र व्यवस्थापकीय विवरण सार्वजनिक गर्ने अभ्यासलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन्। पछिल्लो समय केही खेल प्रतियोगिताले आय–व्यय सार्वजनिक गरेर सकारात्मक सन्देश दिएका कारण दर्शकको अपेक्षा पनि बढेको छ । धनकुटाको प्रतिष्ठासँग जोडिएको भीमनारायण गोल्डकपले यस वर्ष उत्कृष्ट फुटबलसँगै सुशासन र उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्न सके आगामी संस्करणहरूका लागि अझ बलियो आधार बन्न सक्ने खेलप्रेमीहरूको विश्वास छ । २०५५ सालदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताले यो वर्ष खेलाडी,खेलप्रेमी दर्शक, प्रायोजक र स्थानीयको मन जित्ला या नजित्ला त्यो भने हेर्न बाकीनै छ


