३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026

Radio Khabar Palika

‘लक्षण नदेखिने तर ज्यान लिने’ रोगको बढ्दो खतरा ः धनकुटामा युवापुस्तासम्म फैलिँदै उच्च रक्तचाप



  • धनकुटासहित देशभर उच्च रक्तचापका बिरामी बढ्दै गएका छन् भने अहिले २५–३० वर्ष उमेर समूहका युवामा समेत यो समस्या देखिन थालेको चिकित्सकहरूले बताएका छन्।
  • उच्च रक्तचापलाई “सायलन्ट किलर” मानिन्छ, किनकि अधिकांश बिरामीमा सुरुआती अवस्थामा कुनै स्पष्ट लक्षण नदेखिने भएकाले मुटु, मस्तिष्क, मिर्गौला र आँखामा गम्भीर असर पुग्न सक्छ।
  • धूम्रपान, मदिरा सेवन, जंक फुड, तनाव, अनियमित निद्रा र व्यायामको कमी मुख्य कारण मानिएको छ भने नियन्त्रणका लागि नियमित रक्तचाप परीक्षण, स्वस्थ खानपान, व्यायाम र तनाव व्यवस्थापन गर्न चिकित्सकहरूले सुझाव दिएका छन्।

३ जेठ,धनकुटा । पहिले उमेर ढल्किएका मानिसमा मात्रै देखिने समस्या मानिएको उच्च रक्तचाप अहिले युवापुस्तासम्म फैलिन थालेपछि स्वास्थ्यकर्मी चिन्तित बनेका छन्। जीवनशैलीमा आएको तीव्र परिवर्तन, तनाव, जंक फुडको बढ्दो प्रयोग र शारीरिक श्रमको कमीका कारण धनकुटासहित देशभर उच्च रक्तचापका बिरामी बढिरहेका छन्।

आज (आईतवार जेठ ३ ) विश्व उच्च रक्तचाप दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै गर्दा चिकित्सकहरूले उच्च रक्तचापलाई “नदेखिने तर घातक” रोगका रूपमा चित्रण गरेका छन्। धेरैजसो मानिसमा सुरुआती अवस्थामा कुनै लक्षण नदेखिने भएकाले समयमै परीक्षण नगर्दा यो समस्या जटिल बन्दै गएको स्वास्थ्यकर्मीहरू बताउँछन्। धनकुटा अस्पतालका प्रमुख डा. सन्तोष राईका अनुसार अहिले अस्पतालमा आउने बिरामीमध्ये उच्च रक्तचापका बिरामीको संख्या उल्लेख्य छ। “पहिले उमेर पुगेका व्यक्तिमा बढी देखिन्थ्यो, अहिले २५–३० वर्ष उमेर समूहका युवामा समेत उच्च रक्तचाप देखिन थालेको छ,” उनले भने, “यो रोगको सबैभन्दा ठूलो खतरा भनेकै लक्षण नदेखिनु हो।” उनका अनुसार धेरै मानिसले आफूलाई स्वस्थ ठाने पनि भित्रभित्रै उच्च रक्तचापले मुटु, मस्तिष्क, मिर्गौला र आँखामा असर गरिरहेको हुन सक्छ। “सामान्य अवस्थामा १२०।८० एमएम एचजीलाई सामान्य रक्तचाप मानिन्छ। लगातार १४०र९० भन्दा माथि पुगेमा जोखिम मानिन्छ,” उनले बताए।

नेपालमा वयस्क चार जनामध्ये एक जनामा उच्च रक्तचापको समस्या रहेको तथ्यांक भए पनि धेरैलाई आफू बिरामी भएको जानकारी नै नहुने अवस्था छ। चिकित्सकहरूका अनुसार उच्च रक्तचाप भएका करिब ८० प्रतिशत मानिसमा स्पष्ट लक्षण नदेखिने भएकाले यसलाई ‘सायलन्ट किलर’ भनिन्छ। धूम्रपान, मदिरा सेवन, अत्यधिक नुनिलो तथा चिल्लो खाना, जंक फुड, तनाव, अनियमित निद्रा र व्यायामको कमी उच्च रक्तचापका मुख्य कारण मानिएका छन्। ग्रामीण क्षेत्रसम्म बजारिया खानपान र निष्क्रिय जीवनशैली फैलिँदै जाँदा गाउँमा समेत यसको समस्या बढ्न थालेको चिकित्सकहरूको भनाइ छ। स्वास्थ्यकर्मीहरूले उच्च रक्तचाप नियन्त्रणका लागि नियमित रक्तचाप परीक्षण, दैनिक व्यायाम, नुन तथा चिल्लो कम खाने, धूम्रपान–मद्यपान त्याग्ने र तनाव व्यवस्थापन गर्न सुझाव दिएका छन्। चिकित्सकको सल्लाहबिना औषधि सेवन बन्द गर्नु जोखिमपूर्ण हुने उनीहरूको चेतावनी छ। विश्व उच्च रक्तचाप दिवसको अवसरमा धनकुटा जिल्ला अस्पतालले निःशुल्क रक्तचाप परीक्षण, स्वास्थ्य परामर्श तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। अस्पतालका अनुसार ओपिडिमा आउने बिरामीमध्ये उच्च रक्तचापका बिरामीको संख्या वर्षेनी बढ्दो क्रममा छ।