
२ जेठ, धनकुटा । तमोर भ्याली सेकेण्डरी बोर्डिङ स्कुल ले कक्षा ११ सुरु गरेको छ । धनकुटा नगरपालिका–७ श्रीवनीस्थित विद्यालयले शनिबार आयोजित ३३औँ अभिभावक दिवसको अवसरमा कक्षा ११ को औपचारिक उद्घाटन गरेको हो ।

धनकुटा नरपालिकाका प्रमुख चिन्तन तामाङले कक्षा ११ को उद्घाटन पानसमा दीप प्रज्वलन गरी गरेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख तामाङले पछिल्लो समय विद्यार्थी अभाव भइरहेको अवस्थामा विद्यालयले उच्च कक्षा सञ्चालन गर्नु सकारात्मक कदम भएको बताए ।

उनले फरक ढंगबाट शिक्षण सिकाइ अघि बढाउनुपर्नेमा जोड दिँदै विद्यार्थीको भावना र क्षमताअनुसार शिक्षालाई अगाडि बढाउन आग्रह गरे । उनले प्रेरणादायी शिक्षा आवश्यक रहेको उल्लेख गर्दै भविष्यमा विद्यार्थी पछुताउन नपर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । निजी विद्यालयहरूले शिक्षकलाई “साइड जब” को रूपमा नलिई उचित सेवा–सुविधा उपलब्ध गराएर विद्यार्थीको भविष्यप्रति जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो ।

संस्थागत विद्यालय बन्द गर्ने विषय सामान्य नभएको उल्लेख गर्दै उनले निजी क्षेत्रले शिक्षा र रोजगारी दुवै क्षेत्रमा योगदान गरिरहेको बताए ।कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ धनकुटाको प्रमुख ईन्दिरा बुढाथोकी ले विद्यालयले शिक्षासँगै अतिरिक्त प्रतिभा विकासमा समेत भूमिका खेलेको बताइन् । कक्षा ११ सञ्चालनसँगै राज्यको नीति तथा नियमअनुसार अघि बढ्न उनले आग्रह गरिन् । सो अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई नगदसहित सम्मान गरिएको थियो । धनकुटा नगरपालिकाको सफल नेतृत्व गरेको भन्दै नगरप्रमुख तामाङलाई सम्मानपत्र प्रदान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक मञ्जु सुवेदी लुईटेल, शिक्षक दुर्गा लुईटेल र विद्यालयका संरक्षकले उनलाई सम्मान गरेका थिए ।

विद्यालयको २०८२ सालको एसइई परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थी नयनजल कटुवाललाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । त्यसैगरी विद्यालयका नृत्य निर्देशक रेजिना राई र नरेन्द्र कटुवाललाई जनही २५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको विद्यालयले जनाएको छ ।

पत्रकारिता क्षेत्रमार्फत समाज र धनकुटामा योगदान पुर्याएको भन्दै नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास लाई सम्मान गरिएको थियो । साथै २०५५ सालदेखि शिक्षण पेसामा आवद्ध शिक्षिका अर्चना श्रेष्ठ र २०५९ सालदेखि शिक्षण गर्दै आएका धन चाम्लिङलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो ।

विद्यालयका अभिभावक डा. मिनप्रसाद अधिकारीलाई हालै विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेकोमा प्रशंसापत्र प्रदान गरिएको थियो । त्यस्तै गोलाप्रथाबाट छनोट भएका तीन जना अभिभावकका छोराछोरीको एक महिनाको मासिक शुल्क मिनाहा गरिएको विद्यालयकी प्रधानाध्यापक मञ्जु सुवेदी लुईटेलले जानकारी दिइन् ।





