१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

Radio Khabar Palika

वाहिनीपति ट्रफीको उपाधि भोजपुरको नयाँ श्रीनाथ गणलाई



३१ बैशाख,धनकुटा । धनकुटाको हिलेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्षमतावान खेलाडी उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘वाहिनीपति ट्रफी प्रतियोगिता–२०८३’ सम्पन्न भएको छ। नेपाली सेनाको श्री नं. २ वाहिनी अड्डा हिले -धनकुटाको आयोजनामा वैशाख २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा भोजपुरको श्री नयाँ श्रीनाथ गण प्रथम भएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नयाँ श्रीनाथ गणले समग्र उपाधि उचाल्न सफल भएको हो। धनकुटाको श्री भीमदल गण दोस्रो तथा मोरङको श्री शिवदल गण तेस्रो भएको आयोजकले जनाएको छ।प्रतियोगिताको समापन समारोहमा श्री नं‍ २ वाहिनी अड्डाका वाहिनीपति रथी दिवाकर विक्रम राणाले विजयी टोली तथा खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे। उनले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको प्रशंसा गर्दै प्रतियोगिताबाट छनोट भएका खेलाडीलाई निकट भविष्यमा आयोजना हुने ‘पृतनापति ट्रफी–२०८३’ का लागि अनुशासन, सहकार्य र शारीरिक क्षमता अभिवृद्धि गर्दै तयारी गर्न निर्देशन दिए।nप्रतियोगितामा फुटबल, बास्केटबल, भलिबल, जुडो, बक्सिङ, तेक्वान्दो, कबड्डी, स्विमिङ र एथलेटिक्स गरी नौ विधामा प्रतिस्पर्धा भएको थियो। भोजपुरको नयाँ श्रीनाथ गणले भलिबल, बास्केटबल, फुटबल, एथलेटिक्स, बक्सिङ र तेक्वान्दोमा उपाधि जित्दै सर्वोत्कृष्ट बन्न सफल भएको हो। त्यसैगरी, धनकुटाको श्री भीमदल गणले स्विमिङ र कबड्डीमा प्रथम स्थान हासिल गर्दै दोस्रो स्थान सुरक्षित गरेको थियो भने मोरङको श्री शिवदल गण जुडोमा प्रथम हुँदै तेस्रो स्थानमा रह्यो।

प्रतियोगितामा श्री नं.२ वाहिनी अड्डा मातहत रहेका विभिन्न गण तथा गुल्मका खेलाडी सहभागी थिए। सहभागी टोलीमा श्री भीमदल गण धनकुटा, श्री भगवतीदल गण र श्री भीमकाली गुल्म सुनसरी, श्री शिवदल गण मोरङ, श्री नयाँ श्रीनाथ गण भोजपुर, श्री इन्द्रदल गुल्म र श्री रणदल गुल्म संखुवासभा तथा श्री शत्रुमर्दन गुल्म तेह्रथुम रहेका थिए।

सकलदर्जाबीच सामूहिक भावना, अनुशासन र ‘एस्प्रिट डी कोर’ को विकास गर्दै राष्ट्रका लागि सम्भावित उत्कृष्ट खेलाडीको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको श्री नं २ वाहिनी अड्डा हिलेले जनाएको छ।