२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

Radio Khabar Palika

खेलाडी पहिचान गर्न वाहिनीपति ट्रफि सुरु



२४ बैशाख , धनकुटा । सामूहिक भावना, एस्प्रिट डी कोरको विकास, पृतनापति ट्रफीमा उत्कृष्ट नतिजा हासिल तथा राष्ट्रको लागि सम्भावित उत्कृष्ट खेलाडीहरुको पहिचान गर्ने उद्धेश्य सहित वाहिनीपति ट्रफी–२०८३ सुरु भएको छ । बुधबारदेखी श्री नंं.२ वाहिनी अड्डा हिलेको अयोजनामा महेन्द्र सैनिक शिविर स्थित हिलेमा रहेको खेल मैदानमा वाहिनीपति ट्रफी सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन श्री नं.२ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी श्री दिवाकर विक्रम राणाले पानसमा दिप प्रज्जवल गरी गरे । उद्घाटन समारोहमा बोल्दै वाहिनीपति राणाले सकलदर्जाको सामूहिक भावना, एस्प्रिट डी कोरको विकास, पृतनापति ट्रफी मा उत्कृष्ट नतिजा हासिल तथा राष्ट्रको लागि सम्भावित उत्कृष्ट खेलाडीहरुको पहिचान गर्ने उदेश्यका साथ वाहिनीपति ट्रफी संचालन गरिएको बताए । प्रतियोगिता बैशाख २३ गतेदेखी ३१ गतेसम्म सात दिन संचालन हुनेछ । प्रतियोगितामा फुटवल, वास्केटवल, भलिवल, जुडो, वक्सिङ्ग, टेक्वान्डो, कबर्डी, स्विमिङ्ग र एथ्लेक्टस गरी जम्मा नौं वटा विधामा खेल संचालन हुने जनाईएको छ ।
प्रतियोगितामा धनकुटामा रहेका श्री नं.२ वाहिनी अड्डा र श्री भीमदल गण, सुनसरीमा रहेको श्री भगवतीदल गण र श्री भीमकाली गुल्म, मोरङको श्री शिवदल गण, भोजपुरको श्री नयाँ श्रीनाथ गण, संखुवासभाको श्री ईन्द्रदल गुल्म र श्री रणदल गुल्म, तेह्रथुमको श्री शत्रुमर्दन गुल्मका खेलाडी हरुको सहभागिता रहेको जनाईएको छ । प्रतियोगिता धनकुटाको हिले स्थित व्यारेक, सल्लेरी व्यारेक र तल्लो टुडिखेलमा संचालन हुने भीमदल गण सल्लेरी धनकुटाका गणपति प्रमुख सेनानी गणेश थापाले जानकारी दिए ।