२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

Radio Khabar Palika

धनकुटामा प्रेस स्वतन्त्रताको पक्षमा पत्रकारहरु , ‘संघर्षबाट पछि नहट्ने’ चेतावनी



२० बैशाख,धनकुटा । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा धनकुटामा आयोजित दीप प्रज्वलन कार्यक्रम औपचारिकतामा सीमित रहेन, प्रेस स्वतन्त्रताको रक्षा र अधिकारका लागि संघर्षको सशक्त सन्देशसहित सम्पन्न भएको छ।
नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाको आयोजनामा भएको कार्यक्रममा वक्ताहरूले पछिल्लो समय प्रेसमाथि बढ्दो दबाबप्रति चिन्ता व्यक्त गर्दै आवश्यक परे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका पूर्व अध्यक्ष लीला बल्लभ घिमिरेले सञ्चार क्षेत्रले विगतमा सशस्त्र द्धन्द्धलाई समेत सामना गरेको स्मरण गर्दै वर्तमान सन्दर्भमा सरकारी हस्तक्षेप स्वीकार्य नहुने धारणा राखे। उनले सञ्चारकर्मीहरू आफ्ना अधिकारका लागि जुनसुकै मूल्य चुकाउन तयार रहेको संकेत गरे।
त्यस्तै, राष्ट्रिय समाचार समितिका पूर्व महाप्रबन्धक सिद्धराज राई र महासङ्घका संस्थापक संजय सन्तोषी राई लगायतले प्रेस स्वतन्त्रतामाथि हुने हस्तक्षेप लोकतन्त्रका लागि गम्भीर खतरा भएको उल्लेख गर्दै यस्ता गतिविधिविरुद्ध एकताबद्ध प्रतिरोध आवश्यक रहेको बताए।
वक्ताहरूले पत्रकारमाथि हुने दमन, धम्की र अवरोधलाई अस्वीकार्य बताउँदै स्वतन्त्र र सुरक्षित वातावरणमा काम गर्न पाउने अधिकार सुनिश्चित गर्न राज्य गम्भीर बन्नुपर्नेमा जोड दिए।
महासङ्घ धनकुटाका अध्यक्ष विदुर खवासले प्रेस स्वतन्त्रता कुनै सम्झौताको विषय नभएको स्पष्ट पार्दै यसमा हस्तक्षेप भए कडा प्रतिवाद हुने चेतावनी दिए। उनले जिम्मेवार र निष्पक्ष पत्रकारितामार्फत समाजलाई सुसूचित बनाउने दायित्वप्रति सबै सञ्चारकर्मी सजग रहनुपर्ने बताए। कार्यक्रममा सहभागी पत्रकारहरूले दीप प्रज्वलन गर्दै प्रेस स्वतन्त्रताको संरक्षण, पेशागत सुरक्षा र लोकतान्त्रिक मूल्यको रक्षा गर्ने सामूहिक प्रतिबद्धता जनाएका थिए।