
१५ बैशाख,धनकुटा । धनकुटामा मुख्य थात थलो भएका आठपहरिया समुदायले आफूहरूलाई आदिवासी जनजातिको सूचीमा समावेश गर्न सरकारसँग पुनः माग गरेको छ। लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन नभएको भन्दै समुदायले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो।
मंगलबार धनकुटाको बिहीबारे हटियामा परम्परागत भेषभूषा र सांस्कृतिक झाँकीसहित भेला भएका आठपहरियाले र्यालीसहित जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन्। किराँत आठपहरिया समाजका केन्द्रीय अध्यक्ष अष्टमान आठपहरियाले २०५८ सालदेखि पटक–पटक सरकारसमक्ष माग राख्दा पनि हालसम्म ठोस सुनुवाइ नभएको बताए। आफ्नै भाषा, संस्कार, संस्कृति र छुट्टै पहिचान हुँदाहुँदै पनि आदिवासी जनजातिको सूचीमा समावेश नगरिनु अन्यायपूर्ण भएको उनको भनाइ छ।

धनकुटामा करिब ६ हजार जनसंख्या रहेको आठपहरिया समुदायले वर्षभरि विभिन्न मौलिक चाडपर्व मनाउने गरेको छ। कात्तिक वा मंसिरमा मनाइने वाडाङ्मेट चाडमा वर्षभरिका दुःख–पीडा तथा मृत्यु शोक सामूहिक रूपमा उकास्ने र पहिलो सन्तान जन्मेको खुसी साट्ने परम्परा रहेको बताइएको छ। त्यसैगरी चैत वा बैशाखमा विसु तथा भदौ वा असोजमा न्वागी चाड मनाइन्छ। किराँत आठपहरिया समाजका केन्द्रीय महासचिव कोमल आठपहरियाले मौलिक संस्कृति र परम्परा हुँदाहुँदै पनि राज्यबाट अपेक्षित मान्यता र संरक्षण नपाएको बताए। उनले पहिचान संरक्षण, अधिकार सुनिश्चितता तथा राज्यको मान्यता प्राप्तिका लागि आदिवासी जनजातिमा सूचीकृत गरिनुपर्ने माग दोहोर्याए। समुदायले छिटो माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न सकिने संकेतसमेत दिएको छ।


