
३० चैत्र,धनकुटा । नेपाल निर्माण व्यवसायी संघ धनकुटाले इन्धन तथा निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण उद्योग गम्भीर संकटमा परेको जनाएको छ।
संघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान अवस्थालाई “आपतकालीन” स्थिति भन्दै तत्काल समाधानको माग गरेको हो। संघका अनुसार पछिल्लो समय डिजेल, पेट्रोल, मट्टितेल लगायत इन्धन सामग्रीको मूल्य निरन्तर बढ्दै गएको छ। त्यसको प्रत्यक्ष असर निर्माण क्षेत्रमा प्रयोग हुने सिमेन्ट, डण्डी, बिटुमिन लगायत सामग्रीमा परेको छ। मूल्यवृद्धि अस्वाभाविक र अप्रत्याशित रूपमा बढ्दै जाँदा निर्माण व्यवसाय सञ्चालन गर्न कठिन भएको संघले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ विभिन्न विकास आयोजनाहरूमा काम गरिरहेका निर्माण व्यवसायीहरू आर्थिक रूपमा ठूलो मारमा परेका छन्। लागत बढे पनि ठेक्का सम्झौताअनुसार मूल्य समायोजन हुन नसक्दा व्यवसायीहरू थप समस्यामा परेका छन्। संघले नेपाल सरकारको ध्यानाकर्षण गराउँदै निर्माण क्षेत्रमा देखिएको समस्याको तत्काल समाधान गर्न आग्रह गरेको छ। साथै, राष्ट्र बैंकको मूल्य सूचकांकअनुसार ठेक्कामा मूल्य समायोजन गर्ने व्यवस्था लागू गर्न माग गरिएको छ। हालको परिस्थितिमा मूल्य समायोजनसम्बन्धी स्पष्ट निर्देशिका जारी नगरेसम्म धेरै आयोजना प्रभावित हुने र उद्योग नै ठप्प हुने खतरा रहेको निर्माण व्यवसायी संघका अध्यक्ष प्रकाश कुमार राईले जानकारी दिए । उनले सरकारले चाँडो पहल नगरे निर्माण क्षेत्र थप संकटमा पर्ने चेतावनी दिएका छन्।













