
४ बैशाख, धनकुटा । पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङ ले विद्यालय सञ्चालनबारे नयाँ निर्णय गरेका छन्। संघीय सरकारको पछिल्लो निर्णयका कारण विद्यालय शिक्षामा अन्योल बढेपछि स्थानीय तहले आफ्नै तहबाट स्पष्ट मार्गनिर्देशन दिएको हो।
संघीय सरकारले हप्तामा दुई दिन बिदा दिने, प्रशासनिक क्षेत्रमा ढिलासुस्ती देखिने तथा पठनपाठन वैशाख २२ गतेदेखि मात्रै सुरु गर्ने निर्देशन दिएपछि अभिभावक र विद्यार्थीमा अन्योल सिर्जना भएको थियो। सोही अवस्थालाई मध्यनजर गर्दै पाख्रीबास नगरपालिकाले नगर शिक्षा समिति तथा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूसँग छलफल गरेको जनाएको छ। छलफलबाट वैशाख ४ गतेदेखि नयाँ भर्ना प्रक्रिया सुरु गर्ने र वैशाख १५ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख गुरुङले जानकारी दिए। नगरपालिकाको यो निर्णयले स्थानीय स्तरमा शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, विद्यार्थीको शैक्षिक गतिविधि ढिलो नहोस् भन्ने उद्देश्यले समयमै कक्षा सञ्चालनमा ल्याउने तयारी गरिएको जनाइएको छ।












