४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

Radio Khabar Palika

धनकुटामा ‘पूर्वाञ्चल गट ट्यालेन्ट २०८२’ हुने घोषणा, प्रतिभा पहिचानसँगै आर्थिक गतिविधि प्रवर्द्धनमा जोड



४ बैशाख, धनकुटा । धनकुटामा ‘पूर्वाञ्चल गट ट्यालेन्ट २०८२’ आयोजना हुने भएको छ । टिन्स क्रु डान्स ट्रेनिङ सेन्टर धनकुटाले शुक्रबार पत्रकार सम्मेलनमार्फत धनकुटामा ‘पूर्वाञ्चल गट ट्यालेन्ट २०८३’ बैशाख ५ गते धनकुटाको तल्लो टुडिखेलमा हुने जनाएको हो । स्थानीय कला तथा प्रतिभालाई प्रोत्साहन गर्दै उनीहरूलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउने उद्देश्यसहित कार्यक्रमलाई यस वर्ष थप व्यवस्थित र विस्तारित स्वरूपमा सञ्चालन गरिने आयोजकले जनाएको छ। टिन्स क्रु डान्स ट्रेनिङ सेन्टर धनकुटाको आयोजनामा हुन लागेको प्रतियोगितामा नृत्य, गायन लगायत विभिन्न विधाका प्रतिभाहरूको सहभागिता रहनेछ। पत्रकार सम्मेलनमा आयोजकले कार्यक्रमलाई केवल प्रतिस्पर्धामा सीमित नराखी ग्रामीण भेगमा रहेका लुकेका प्रतिभाहरूको पहिचान, अभिवृद्धि र अवसर सृजनासँग जोडिएको पहलका रूपमा अघि बढाइएको स्पष्ट पारे। कार्यक्रममा नृत्यतर्फ युसिन येस्माली मगर, सुषान्त लिम्बु र दिपेश मगर तथा गायनतर्फ जुनी खालिङ राई, दिनेश भारती र महेश राई निर्णायकको भूमिकामा रहने जानकारी आयोजकले दिएको छ ।

त्यस्तै कलाकार डिजी राज पौडेल र ‘द भ्वाइस अफ नेपाल सिजन–६’ का प्रतियोगी बिराट तामाङको विशेष प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण रहने जनाइएको छ। पत्रकार सम्मेलनमा प्रस्तुत विवरणअनुसार प्रतियोगिताको पुरस्कार संरचना आकर्षक बनाइएको छ। गायनतर्फ प्रथम स्थान हासिल गर्नेले नगद ५ लाखका साथै सोही बराबरको जीवन बीमा प्रिमियम, म्युजिक रेकर्डिङको अवसर, गिफ्ट ह्याम्पर, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। द्वितीय र तृतीय स्थान प्राप्त गर्ने प्रतियोगीलाई क्रमशः १ लाख र ५० हजारसहित अन्य पुरस्कार प्रदान गरिने कार्यक्रम सुंमन योगीले जानकारी दिए । त्यस्तै नृत्यतर्फ सिनियर र जुनियर दुई विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । नृत्य सिनियरतर्फ प्रथम पुरस्कार २ लाख ५० हजार त्यस्तै त्यस्तै जुनियरतर्फ पनि प्रथम पुरस्कार २ लाख ५० हजार रहने आयोजकले जनाएको छ। त्यस्तै द्वितीय हुनेलाई ५० हजार र तृतीय हुनेले २५ हजार पाउने आयोजकले जनाएको छ।विभिन्न स्थानबाट सहभागी भएका ४ सय ३० जना प्रतिस्पर्धीमध्ये मेघा अडिसनबाट छनोट भई ३१ जना अन्तिम चरणमा पुगेका छन्। जसमा गायनतर्फ १४, नृत्य सिनियरतर्फ ९ र जुनियरतर्फ ८ जना प्रतिस्पर्धी रहनेछन्। धनकुटा नगरपालिका, स्थानीय वडा कार्यालयहरू तथा विभिन्न संघ–संस्थाहरूको सहकार्यमा आयोजना हुने कार्यक्रमको मुख्य प्रायोजक ‘एभेन्टोज’ रहेको छ।
पत्रकार सम्मेलनमा यस्ता कार्यक्रमले कला तथा संस्कृतिको संरक्षणसँगै स्थानीय पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधिमा सकारात्मक योगदान पुग्ने कार्यक्रम संयोजक सुमन योगीले विश्वास व्यक्त गरे।