१६ चैत्र, धनकुटा।प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले विभिन्न निकाय तथा व्यक्तिहरूलाई प्रशंसापत्रसहित सम्मान गरेको छ।
निर्वाचनलाई सहज, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, धनकुटास्थित सुरक्षा निकायका प्रमुखहरू, कोलोनीका प्रमुख तथा नेपाल पत्रकार महासंघलाई सम्मान गरिएको हो।
सम्मान कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश हरिशचन्द्र इङनामले निर्वाचन सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण राजनीतिक दल, विभिन्न संघसंस्था, सुरक्षाकर्मी तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गरे। उनले सबै पक्षको सहकार्यका कारण निर्वाचन शान्तिपूर्ण र प्रभावकारी रूपमा सम्पन्न भएको उल्लेख गरे।
कार्यक्रममा सहभागीहरूले आगामी दिनमा पनि यस्तै सहकार्य र समन्वय कायम राख्दै लोकतान्त्रिक प्रक्रियालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
१६ चैत्र २०८२, सोमबार ११ : ५१ बजे
22.8k
Shares










