
१३ चैत्र , धनकुटा । झापाको कनकाई नगरपालिकाले धनकुटाको हिलेमा जारी १८ औँ संस्करणको कोशी प्रदेश स्तरीय अन्तरपालिका राम नवमी कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
शुक्रबार हिले खेलमैदानमा सम्पन्न फाइनल खेलमा कनकाईले भोजपुरको रामप्रसाद राई गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो। वेस्ट अफ फाइभ प्रणालीमा खेलाइएको प्रतिस्पर्धामा कनकाईले २५–१७, २५–२२ र २५–१८ को सेटमा जित निकाल्यो। उपाधिसँगै कनकाईले नगद २ लाख २ हजार २२२ रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता रामप्रसाद राई गाउँपालिकाले १ लाख १ हजार १११ रुपैयाँमा चित्त बुझाएको छ। विजेता तथा उपविजेता टोलीलाई धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले पुरस्कार वितरण गरेका थिए। मंगलबारबाट सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका ९ वटा पालिकाको सहभागिता रहेको हिले भलिबल क्लबका अध्यक्ष सञ्जीव तामाङले जानकारी दिएका छन्। धनकुटाको हिलेमा राम नवमीको अवसरमा २०५५ सालदेखि निरन्तर रूपमा भलिबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ।







