२७ माघ २०८२, मंगलबार | Wed Feb 11 2026

Radio Khabar Palika

निर्वाचनलाइ लक्षित गर्दै जिम्मेवार पत्रकारिता गर्न नेपाल पत्रकार महासंघ धनकुटाको आग्रह



धनकुटा माघ,२७ । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले आगामी फागुन २९ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सबै सञ्चारकर्मीलाई जिम्मेवार, निष्पक्ष र तथ्यमा आधारित पत्रकारिता गर्न आग्रह गरेको छ।
महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचन लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण प्रक्रिया भएकाले यससँग सम्बन्धित समाचार संकलन, सम्पादन, प्रकाशन तथा प्रशारण कार्य अत्यन्त जिम्मेवारीपूर्वक गर्नुपर्ने उल्लेख गरिएको छ। स्वतन्त्र, निष्पक्ष, सत्यपरक र सन्तुलित पत्रकारिताले लोकतन्त्रको आधार मजबुत बनाउने महासंघको विश्वास रहेको छ।
विज्ञप्तिमा नेपाल प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिता तथा निर्वाचन आयोगले तोकेको निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सञ्चारकर्मीलाई आग्रह गरिएको छ। समाचार सम्प्रेषण गर्दा सत्यतामा आधारित, पक्षपातरहित र जिम्मेवार सामग्री मात्र प्रकाशन तथा प्रशारण गर्न, अपुष्ट वा भ्रामक सूचना नफैलाउन, उम्मेदवार तथा राजनीतिक दलप्रति समान व्यवहार गर्न तथा निर्वाचनको निष्पक्ष वातावरण कायम राख्न सहयोग गर्न अनुरोध गरिएको छ। त्यसैगरी सामाजिक सञ्जाललगायत डिजिटल माध्यम प्रयोग गर्दा समेत पेशागत मर्यादा, नैतिकता र कानुनी दायित्वलाई ध्यानमा राख्न सबै सञ्चारकर्मी तथा सञ्चार संस्थालाई महासंघले स्मरण गराएको छ। नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष विदुर खवास र सचिव हरिवहादुर लम्जेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्वाचनलाई स्वच्छ, पारदर्शी र विश्वसनीय बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहने उल्लेख गरिएको छ। यस उद्देश्यका साथ धनकुटा शाखाअन्तर्गत आवद्ध सदस्य, क्रियाशील पत्रकार, राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यम र डिजिटल प्लेटफर्मलाई लक्षित गर्दै प्रेस विज्ञप्ति जारी गरिएको महासंघले जनाएको छ।