
माघ २७,धनकुटा ।
धनकुटामा ६५ सदस्यीय नेशनल भोलेन्टियर फोर्स गठन गरिएको छ । जिल्लाका सबै स्थानीय तहलाई समेटेर प्रविण पोख्रेललाई कमाण्डर र मोहन लिम्बुलाई सह–कमाण्डर रहने गरी फोर्स गठन गरिएको हो । फोर्सको गठन कार्यक्रम नेशनल भोलेन्टियर फोर्सका केन्द्रीय प्रमुख कमाण्डर पुष्प श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा एमाले धनकुटा जिल्ला अध्यक्ष शिव आङ्ला, सचिव पर्शुराम नेपाल लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । आसन्न निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्न नेशनल भोलेन्टियर फोर्सको भूमिका महत्वपूर्ण रहने प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए । निर्वाचन प्रक्रियालाई सफल बनाउन फोर्सले जिम्मेवारीपूर्वक काम गर्ने विश्वास व्यक्त गरिएको थियो । यसैगरी, नेशनल भोलेन्टियर फोर्स धनकुटाका कमाण्डर प्रविण पोख्रेलले निर्वाचनलाई सफल बनाउन आफूहरूलाई दिइएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने बताएका छन् ।










