
डेबिट ठाडा
धनकुटा, माघ २५ – धनकुटाको पाख्रीबास नगरपालिका–९ मा अवस्थित उत्तरपानी धर्मशाला सामुदायिक होमस्टेको पहिलो ऐतिहासिक साधारण सभा आइतबार भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय पर्यटन प्रवर्द्धन र ग्रामीण अर्थतन्त्र सुदृढीकरण गर्ने उद्देश्यका साथ आयोजित सभाले विभिन्न महत्त्वपूर्ण निर्णयहरू पनि गरेको अायाेजकले जनाएकाे छ । वडा अध्यक्ष सम्झना आलेको उपस्थितिमा स्थानीय समाजसेवी हरि लाल मोक्तानलाई विशेष सम्मान गरिएको हो। मोक्तानले होमस्टे क्षेत्रभित्र आकर्षक पार्क निर्माणका लागि १ रोपनी जग्गा निःशुल्क दान गरेको भन्दै समितिले सम्मानपत्र र दोसल्ला ओढाएर कदर गरेको बताएको छ। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै लिसुबू कृषि सहकारीका अध्यक्ष बलेन्द्र ठाडा मगरले होमस्टेले स्थानीय पर्यटन र रोजगारीमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । त्यसैगरी लिसुम्बु युवा क्लबका भिम बहादुर आले र वडा सदस्य पहलमान घिसिङले होमस्टेको विकास र प्रवर्द्धनमा सबैको सहकार्य रहने तथा आगामी दिनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। हाल यस सामुदायिक होमस्टेमा १७ वटा घरहरू आबद्ध भई पाहुनाको स्वागतमा सक्रिय रहेको समितिले जानकारी दिएको छ। होमस्टेहरूलाई अझ व्यवस्थित, पर्यटकमैत्री र गुणस्तरीय बनाउने लक्ष्यका साथ आगामी कार्यक्रमहरू अघि बढाइने पनि जनाइएको छ। होमस्टे सञ्चालन समितिका अध्यक्ष रेविका तामाङकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।






