२५ माघ २०८२, आइतबार | Sun Feb 8 2026

Radio Khabar Palika

स्पेनमा अवसर, तर राहदानी अभावले नेपाली आप्रवासी संकटमा



धनकुटा २५ माघ । स्पेन सरकारले करिब २३ वर्षपछि ५ लाखभन्दा बढी आप्रवासीलाई एकैपटक अस्थायी बसोबास अनुमति पत्र तथा रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेको छ।
स्पेनमा लामो समयदेखि बसोबास गर्दै आएका हजारौँ नेपाली आप्रवासी यस निर्णयबाट प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। विभिन्न देशमार्फत स्पेन प्रवेश गरेका आप्रवासीहरू प्रहरी रिपोर्ट प्रस्तुत गर्न असमर्थ भएकाले नयाँ बसोबास अनुमतिको आवश्यकता परेको जनाइएको छ।
भारत, पाकिस्तान र बंगलादेशले आफ्ना नागरिकका लागि स्पेनका विभिन्न सहरमा दूतावास शिविर सञ्चालन गरी नयाँ राहदानी वितरण गरिसके पनि नेपाली नागरिकहरू भने आवश्यक कागजात अभावका कारण अन्योलमा परेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
प्रेस विज्ञप्तिअनुसार, कागजात बनेर रोजगारी पाएपछि पहिलो महिनाको तलब नेपाल सरकारलाई दान गर्ने तथा दोस्रो महिनामा व्रत बस्ने, खाँडो वा भारतीय गुरुहरूको मन्दिरमा प्रसादी चढाउने प्रतिबद्धता जनाइएको छ। तर त्यसका लागि नयाँ राहदानी अत्यावश्यक भएको पाख्रिवास नगरपालिका ३ धनकुटा हाल स्पेनमा रहेका राजेन्द्र बस्नेतले जानकारी दिए ।
स्पेनमा रहेका नेपाली आप्रवासीहरूले २०२६ अप्रिल १ भित्र नयाँ राहदानी आवश्यक पर्ने उल्लेख गर्दै विज्ञप्ती मार्फत नेपाल सरकार, परराष्ट्र मन्त्रालय, राहदानी विभाग, स्पेनस्थित, नेपाली समाज, संघसंस्था तथा अग्रजहरूको गम्भीर ध्यानाकर्षण गराएका छन्।
आवश्यक थप कर्मचारी टोली स्पेन पठाएर वा कूटनीतिक पहलमार्फत प्रहरी रिपोर्ट बिना पनि राहदानी उपलब्ध गराउन नेपालस्थित स्पेन दूतावासलाई पहल गर्न अनुरोध गरिएको छ। प्रेस विज्ञप्तिमा नेपाल सरकार र सम्बन्धित निकायलाई निराश नपार्न आग्रह गर्दै, देशप्रेमी जिम्मेवार नागरिकको रूपमा सार्वजनिक अपिल गरिएको बस्नेतले बताए ।
उनले थप जानकारीका लागि फोन, मेसेन्जर वा वाट्सएप नम्बर ं३४ ६३९०५४२५२ र ं९५ ४२०६१५५८ मा सम्पर्क गर्न अनुरोध गरेका छन ।