
धनकुटा माघ,२४ । नेकपा (एमाले) धनकुटा जिल्ला समितिले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै भइरहेको भ्रामक प्रचार, आचारसंहिता उल्लङ्घन र गैरकानुनी गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला समितिद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ निर्वाचनको मिति नजिकिँदै जाँदा धनकुटा जिल्लामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा सक्रिय देखिएका छन् । सोही क्रममा स्वतन्त्र उम्मेदवार लाक्पा तामाङले सामाजिक सञ्जालमार्फत नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका राजेन्द्रकुमार राईविरुद्ध गलत फोन नम्बर प्रयोग गरी भ्रामक सूचना तथा प्रचार सामग्री प्रसारण गरेको आरोप लगाइएको छ ।
विज्ञप्तिमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको अडियो तथा भिडियो सामग्रीमा उल्लेखित भनाइहरू असत्य, आधारहीन र निर्वाचन आचारसंहिता उल्लङ्घन भएको नेकपा (एमाले) धनकुटाको ठहर रहेको उल्लेख गरिएको छ । पार्टीले यस्ता गतिविधिले निर्वाचनको स्वच्छता, निष्पक्षता र लोकतान्त्रिक अभ्यासमाथि गम्भीर असर पार्ने बताएको छ ।

नेकपा एमाले धनकुटाले उक्त घटनामा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी आवश्यक कारबाही अघि बढाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटा, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयलाई लिखित रूपमा जानकारी गराइसकेको जिल्ला अध्यक्ष शिव आङ्ला लिम्बुले जानकारी दिए । उनले दोषीमाथि तत्काल कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायसँग माग गरिएको जनाएका छन ।
पार्टीले राजनीतिक स्वार्थ पूरा गर्न हर्कत, धम्की, बदनियतपूर्ण प्रचार र मानसिक दबाब दिने प्रवृत्तिको कडा निन्दा गर्दै यस्ता क्रियाकलापमा संलग्न व्यक्तिहरूले यसको सम्पूर्ण जिम्मेवारी वहन गर्नुपर्ने स्पष्ट पारेको छ । निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न सबै पक्षलाई संयम र जिम्मेवारीपूर्वक अघि बढ्न पनि नेकपा (एमाले) धनकुटाले आग्रह गरेको छ ।






