२३ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026

Radio Khabar Palika

नाम्जेका १३ विद्यार्थीलाई छात्रवृत्ति, दाता सम्मानित



धनकुटा, माघ २३ । धनकुटाको नाम्जेमा रहेको ग्रामिण जनता माध्यमिक विद्यालयले विद्यालयलाई सहयोग गर्ने दाताहरूलाई सम्मान गरेको थियो भने विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण तथा शिक्षकहरूलाई सम्मान तथा विदाइ गरिएको छ ।

विद्यालयले आयोजना गरेको विशेष समारोहमा १३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएकाे थियाे । त्यस्तै विद्यालयको शैक्षिक विकासमा सहयोग पुर्‍याउने ६ जना दातालाई सम्मान गरिएकाे छ भने विद्यालयमा अध्यापन गराउँदै आएका ४ जना शिक्षकलाई बिदाई गरिएको थियो । विद्यालयलाई १ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने धरान–८ का मैतबहादुर मोक्तान र कमला मोक्तान तथा सोही बराबरको रकम सहयोग गर्ने विराटनगरका नवीन रिजाल, महेश जाजु र पवन सारडालाई विद्यालयले सम्मान गरेकाे छ । त्यस्तै विद्यालयलाई २०–२० हजार रुपैयाँ सहयोग गर्ने साँगुरीगढी–६ धनकुटाका बेदबहादुर भुजेल र विद्यालयका शिक्षक राजकुमार माङ्लाकलाई पनि सम्मान गरिएको थियो । विद्यालयका अनुसार ५ वटा अक्षयकोषको ब्याज रकमबाट १७ जना छात्रछात्रालाई सम्मान गरिएकाे हाे । यस्तै १ लाख ११ हजार १ सय ११ रुपैयाँ बराबरका ३ वटा अक्षयकोषबाट ५ हजार रुपैयाँका दरले ३ जना विद्यार्थीलाई पुरस्कृत गरिए‍काे थियाे । स्वर्गीय सम्भु प्रसाद भण्डारी छात्रवृत्ति, तुलसीराम–रमादेवी–दिनेश काफ्ले अक्षयकोष तथा मैतबहादुर–कमला छात्रवृत्ति कोषबाट छात्रछात्रालाई सम्मान गरिएको प्रधानाध्यापक टंक भुजेलले जानकारी दिए । त्यस्तै ६ लाख ५० हजार रुपैयाँको ग्रामिण जनता मावि अक्षयकोषको ५० हजार रुपैयाँ ब्याज रकमबाट १० जना विद्यार्थीलाई ५ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएकाे । साथै साँगुरीगढी गाउँपालिकाको अध्यक्ष कोषबाट कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट विषय अध्ययनरत ४ जना विद्यार्थीलाई छात्रवृत्ति दिइएको प्रधानाध्यापक टंक भुजेलले जानकारी दिए। कार्यक्रममा विद्यालयमा अध्यापन गराउँदै आएका २ जना स्थायी तथा २ जना करार शिक्षकलाई बिदाई गरिएको थियो । २०५८ सालदेखि नेपाली विषय अध्यापन गराउँदै आएका पूर्व सहायक प्रधानाध्यापक लेकबहादुर कटुवाल र २०५० सालदेखि समाजशास्त्र विषय अध्यापन गराउँदै आएका कक्षा १२ का संयोजक नरबहादुर चेम्जोङलाई बिदाई गरिएको थियो । साथै करार सेवामा अध्यापन गराउँदै आएका राधाकुमारी मगर र विकास श्रेष्ठलाई पनि बिदाई गरिएको थियो ।विद्यार्थीलाई नगद, दातालाई सम्मान तथा शिक्षकलाई बिदाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तर राई, प्रधानाध्यापक टंक भुजेल, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई तथा वडा नम्बर ६ का अध्यक्ष दीपक मगरले गरेका थिए ।