२३ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026

Radio Khabar Palika

धनकुटामा एक हजार २ सय ८६ बालिकालाई एचपीभी खोप लगाइने



धनकुटा, २३ माघ । धनकुटा जिल्लामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप एक हजारभन्दा बढी बालिकालाई लगाइने भएको छ । स्वास्थ्य कार्यालय धनकुटा तथा जिल्ला खोप समन्वय समितिले शुक्रबार सञ्चारकर्मी र सरोकारवालासँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा खोप अभियानबारे जानकारी गराएको हो । स्वास्थ्य कार्यालयका अनुसार माघ २७ देखि २९ सम्म जिल्लाका सातवटै स्थानीय तहमा कुल १ हजार २ सय ८६ जना बालिकालाई एचपीभी खोप लगाइनेछ । कक्षा ६ मा अध्ययनरत १० वर्ष मुनिका छात्रा तथा विद्यालय बाहिर रहेका सोही उमेर समूहका बालिकालाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यस्तै, गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत ११ देखि १४ वर्ष उमेर समूहका बालिकालाई पनि यस अभियानअन्तर्गत खोप दिइने स्वास्थ्य कार्यालय धनकुटाकी प्रमुख सिर्जना बन्जाडेले जानकारी दिइन् । जिल्लाभर रहेका १ सय ४१ वटा विद्यालय र ७३ वटा स्वास्थ्य संस्थासहित जम्मा २ सय १५ स्थानबाट खोप सेवा प्रदान गरिनेछ । खोप कार्यक्रमलाई प्रभावकारी बनाउन २ सय १४ जना स्वास्थ्यकर्मी परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।स्वास्थ्य कार्यालयले लक्षित सबै बालिकालाई खोप लगाउन अभिभावक, विद्यालय र समुदायलाई सहयोग गर्न आग्रह गरेको छ ।