२३ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026

Radio Khabar Palika

धनकुटामा ‘चियासँग कविता’ कार्यक्रमको पहिलो वार्षिकोत्सव, चार विधामा पुरस्कार वितरण हुने



धनकुटा, माघ २३ -धनकुटाको पहिलो सामुदायिक रेडियो धनकुटा एफएमको संयोजनमा सञ्चालन हुँदै आएको साहित्यिक कार्यक्रम ‘चियासँग कविता’ एक वर्ष पूरा गरेको छ। कार्यक्रमले यो अवधिमा साहित्यिक यात्रामा मात्र नभई धनकुटाको साहित्यिक विकासमा उल्लेखनीय योगदान पुर्‍याएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार ‘चियासँग कविता’ले धनकुटामा सुस्ताएको साहित्यलाई पुनः चलायमान बनाउने प्रयास गर्दै आएको छ। स्थानीय साहित्यिक गतिविधिलाई उचाइमा पुर्‍याउने उद्देश्यसहित सुरु गरिएको यो कार्यक्रम हालसम्म निरन्तर सञ्चालनमा छ।
कार्यक्रमको पहिलो वार्षिकोत्सव आगामी २०८२ साल फागुन १ गते शुक्रबार मनाइने भएको छ। सो अवसरमा विभिन्न साहित्यिक विधामा उत्कृष्ट स्रष्टालाई नगदसहित पुरस्कार प्रदान गरिने जानकारी आयोजकले दिएको छ।
वार्षिकोत्सवका अवसरमा प्रदान गरिने पुरस्कारहरू यसप्रकार रहेका छन्–
‘चियासँग कविता धनकुटा साहित्य रत्न’ पुरस्कार – नगद रु। १५ हजार
‘चियासँग कविता युवा साहित्य’ पुरस्कार – नगद रु। ५ हजार
‘चियासँग कविता नव प्रतिभा’ पुरस्कार – नगद रु। ५ हजार
‘चियासँग कविता पत्रकारिता’ पुरस्कार – नगद रु। ५ हजार

त्यसैगरी, ‘चियासँग कविता’को पहिलो श्रृंखलामा सहभागी सर्जकहरू तथा आर्थिक, भौतिक र अन्य सहयोग पुर्‍याउने सहयोगीहरूलाई पनि सम्मान गरिने बताइएको छ। पहिलो वार्षिकोत्सवको अवसरमा ‘चियासँग कविता’ कविता सङ्ग्रहको विमोचन, सम्मान कार्यक्रम तथा सांस्कृतिक प्रस्तुति समेत आयोजना गरिनेछ। आयोजकले कार्यक्रममा सबै साहित्यप्रेमी, सर्जक तथा सरोकारवालाको सक्रिय सहभागिताको लागि आयोजकले अनुरोध गरेको छ ।