१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

Radio Khabar Palika

सामाजिक व्यक्तित्व स्व. गणेशकुमार कर्माचार्यको शालिक अनावरण



माघ १७,धनकुटा — धनकुटाका सामाजिक, शिक्षासेवी तथा बहुआयामिक योगदान पु¥याएका स्व। गणेशकुमार कर्माचार्यको सालिक अनावरण गरिएको छ। शनिबार धनकुटा नगरपालिका–५ स्थित तल्लाकोप्चेमा आयोजित विशेष कार्यक्रममा कर्माचार्यको सालिक अनावरण गरिएको हो।

वि.सं. १९७० सालमा जन्मिएका कर्माचार्यको तामाबाट निर्मित अर्धकदको प्रतिमा पारिवारिक सदस्यद्वारा अनावरण गरिएको हो। शिक्षा, सामाजिक सुधार तथा पूर्वी पहाडी जिल्लामा व्यापार र विकासको आधार निर्माणमा कर्माचार्यले महत्वपूर्ण योगदान पु¥याएका थिए।राणा शासनकालको कठिन परिस्थितिमा समेत शिक्षाको विस्तारमा सक्रिय रहेका कर्माचार्यले धनकुटामा आधुनिक शिक्षाको सुरुवात गराएका थिए। उनले गोकुन्डेश्वर इंग्लिस स्कुल स्थापना गरी सञ्चालन गर्दै शिक्षामा नयाँ आयाम थपेका थिए। यस्तै, वि.सं. २०१२ सालमा धनकुटा बहुमुखी क्याम्पस स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै संस्थापक सञ्चालकको जिम्मेवारी समेत सम्हालेका थिए। वि.सं. २०१६ सालमा बालमन्दिर विद्यालय स्थापना गरी शैक्षिक विकासमा योगदान पु¥याएका कर्माचार्य सामाजिक सुधार अभियानमा पनि उत्तिकै सक्रिय रहेको सामाजिक व्यक्तित्व राजेन्द्र प्रधानले बताए। उनका अनुसार वि.सं. २०१३ सालमा राजा महेन्द्रको धनकुटा भ्रमणका क्रममा कर्माचार्यले धरान–धनकुटा मोटरबाटो निर्माण तथा बजार क्षेत्रमा खानेपानी व्यवस्थापनका लागि पहल गरेका थिए।कर्माचार्य धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरलगायत पहाडी जिल्लामा व्यापारिक गतिविधि विस्तार गर्ने अग्रणी व्यक्तित्वका रूपमा परिचित थिए। राजनीतिक क्षेत्रमा समेत सक्रिय रहेका उनले वि.सं.२०१५ सालको आमनिर्वाचनमा महासभा पार्टीबाट उम्मेदवारसमेत बनेका थिए।