१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

Radio Khabar Palika

धर्मदेवी–शिलढुंगा पदमार्ग निर्माणमा सहयोग गरेबापत सल्भ–नेपाल धनकुटा सम्मानित



धनकुटा । धनकुटा नगरपालिका–६ नम्बर वडा कार्यालयले धर्मदेवी–शिलढुंगा पैदल मार्गको संरचना निर्माणमा महत्वपूर्ण सहयोग पुर्‍याएको भन्दै सल्भ–नेपाल धनकुटालाई सम्मान गरेको छ ।

विहीबार आयोजित एक कार्यक्रममा वडा कार्यालय–६ का वडाध्यक्ष मिलनकुमार खड्गी र वडा सचिव कुमार खड्काले सल्भ–नेपाल धनकुटाका अध्यक्ष राजेन्द्रकुमार प्रधानलाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गर्दै सम्मान गरेका हुन् ।सल्भ–नेपाल धनकुटाले पदमार्गका विभिन्न स्थानमा फलामे रेलिङ तथा पैदल बाटो निर्माणका लागि करिब ४ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको वडा कार्यालयले जनाएको छ ।कोशी राजमार्ग नजिकै वाघेखोलास्थित धर्मदेवी मन्दिरदेखि कागतेमा रहेको शिलढुंगासम्म उक्त पदमार्ग निर्माण गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै हाइकिङ प्रवर्द्धन र धर्मदेवी मन्दिरको पर्यटन विकासका लागि पदमार्ग निर्माण गरिएको वडाध्यक्ष खड्गीले जानकारी दिए ।उनका अनुसार पदमार्गको कुल दूरी ३।६ किलोमिटर रहेको छ भने उक्त दूरी पैदल पार गर्न करिब १ घण्टा १० मिनेट समय लाग्नेछ । धनकुटा बजार नजिकै रहेको यस हाइकिङ रुटबाट बजारको रमणीय दृश्यसँगै ग्रामीण क्षेत्रको प्राकृतिक सौन्दर्य अवलोकन गर्न सकिने बताइएको छ ।कार्यक्रममा बोल्दै सल्भ–नेपाल धनकुटाका अध्यक्ष राजेन्द्रकुमार प्रधानले क्षेत्रको पर्यटकीय सम्भावना देखेर सहयोग गरिएको बताए । साथै पदमार्गको थप भौतिक संरचना निर्माणका लागि भविष्यमा पनि सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।कार्यक्रममा निवर्तमान वडाध्यक्ष नरेश श्रेष्ठले पदमार्गले धेरै सम्भावना बोकेको उल्लेख गर्दै होमस्टे प्रवर्द्धनमा समेत जोड दिनुपर्ने बताए । कार्यक्रममा वडा सदस्यहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव कुमार खड्काले गरेका थिए ।