१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

Radio Khabar Palika

एमाले उम्मेदवार राईद्वारा गाँजा बैधानिकीकरणदेखि सुरुङमार्ग निर्माणसम्मका प्रतिबद्धता सार्वजनिक



धनकुटा, १४ माघ । प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) धनकुटाका उम्मेदवार राजेन्द्रकुमार राईले गाँजा बैधानिक बनाउनेदेखि सुरुङमार्ग निर्माणसम्मका १४ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। बुधबार धनकुटामा आयोजित पत्रकार सम्मेलनमार्फत उनले जिल्लाको समग्र विकासका लागि ठोस र दीर्घकालीन योजना सार्वजनिक गरेका हुन्।

राईले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राख्दै धनकुटाको आर्थिक तथा सामाजिक रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै उनले गाँजा खेतीलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्ने र निर्दोष नागरिकमाथि लगाइएका मुद्दा पुनरावलोकन गरी रिहाइका लागि पहल गर्ने बताए। उनले धरान–लेउती सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राख्ने, प्रदेश सरकारसँग समन्वय गरी धनकुटामा शिक्षण अस्पताल निर्माण गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको जानकारी दिए। जेनजी आन्दोलन अगाडि गाँजाका कारण ४ सय ३६ जना जेलमा रहेको तथ्य पनि उनले प्रस्तुत गरे। यस्तै चौविसे गाउँपालिका र महालक्ष्मी नगरपालिकामा नमुना शहर निर्माण गर्ने, चिया, एभोकाडो, सुन्तला, किवी, कफी, ड्रागन फलजस्ता कृषि उपजको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण गर्दै कृषि बजार केन्द्र सञ्चालन गरिने प्रतिबद्धतामा उल्लेख छ। जेनजी पुस्तालाई आधुनिक प्रविधिमार्फत नवप्रवर्द्धनात्मक सिकाइ र आयआर्जनमा केन्द्रित गराउने योजना पनि सार्वजनिक गरिएको छ। प्रतिबद्धतापत्रमा धनकुटा सदरमुकामस्थित ऐतिहासिक तल्लो टुँडिखेललाई आधुनिक रंगशालामा रूपान्तरण गर्ने, प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा एक–एक वटा राष्ट्रिय मापदण्डको खेलग्राम निर्माण गर्ने उल्लेख छ। साथै खुवालुङ–लालीगुराँस पदमार्गलाई त्रिवेणीदेखि तीनजुरेसम्म र बराहक्षेत्र–मिक्लाजुङ मार्गलाई सांस्कृतिक याक्थुङ पदमार्गका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। त्यसैगरी छिन्ताङदेवी, धर्मदेवी र मधुगंगा धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, राजारानी ताल, संसारीमाई सिमसार, नमस्ते झरना, लेगुवा झरनालाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ। किसानलाई कृषि उत्पादनका लागि अनुदान र सरल ब्याजदरमा ऋण उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता पनि समावेश छ। राईले नमस्ते झरनादेखि नाम्जेसम्म केवलकार निर्माण, आधुनिक कोल्डस्टोर निर्माण तथा आफू दुई पटक सांसद र मन्त्री हुँदा सुरु भएका तर अधुरा रहेका विकास आयोजनाहरू सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पत्रकार सम्मेलनमा उनले मुख्य विकास योजना र कार्यक्रमहरू मात्रै समेटिएको बताउँदै पार्टीको जिल्ला तथा पालिकास्तरीय प्रतिबद्धता पत्रमा विस्तृत कार्यक्रम समावेश गरिने जानकारी दिएका छन्।