
२३ साउन २०८२,धनकुटा । बालबालिकाको शारीरिक, मानसिक विकास तथा स्वास्थ्यका लागि बास्केटबल खेललाई प्रोत्साहन गर्दै धनकुटा बास्केटबल क्लबले प्रारम्भिक बास्केटबल प्रशिक्षण शिविर सञ्चालन गर्ने भएको छ। विद्यालय स्तरका बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि धनकुटामा प्रारम्भीक स्तरको (बिगिनर–लेभल) बास्केटबल प्रशिक्षण शिविर सञ्चालन हुने भएको हो । शिविरमा सहभागी बालबालिकालाई खेल सिकाउने मात्र नभई व्यक्तिगत सुरक्षा, जीवनशैली सुधार, अस्वास्थ्यकर बानी रोकथाम, सरसफाइ र पोषणसम्बन्धी ज्ञानसमेत दिइने क्लबले जनाएको छ। साउन २४ देखि भदौ ३ गते सम्म सञ्चालन हुने शिविरमा धनकुटाका सामुदायिक र संस्थागत विद्यालयका बालबालिकाले सहभागिता जनाउनसक्ने आयोजकले जनाएको छ । बास्केटबल क्लब धनकुटाका अध्यक्ष विबेक श्रेष्ठले शिविरमार्फत बालबालिकाले बास्केटबल खेलको आधारभूत सीप, शारीरिक तन्दुरुस्ती, टीमवर्क र खेल अनुशासन सिक्ने अवसर पाउने बताउनु भयो । खेलकुदमार्फत स्वास्थ्य सचेतना, आत्मअनुशासन, नेतृत्व क्षमता र सामाजिक समावेशीकरणमा योगदान पुग्ने उहाँको भनाइ छ।