
१८ चैत्र,धनकुटा । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका कोशी प्रदेशका १४ वटा जिल्ला सभापतिहरुद्वारा चैत्र १५ गते भएको दुःखद् घटनाको अविलम्व सत्यतथ्य छानबिन गरि दोषीमाथि हदैसम्मको कार्वाही गरि नागरिकहरुको जिउधन र भौतिक सम्पत्तिको सुरक्षाको ग्यारेन्टी गर्न समेत नेपाल सरकारसँग जोडदार माग गरेका छन् ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ कोशी प्रदेशका १४ जिल्ला सभापतिहरुद्वारा संयुक्त प्रेस वक्तव्य जारी गरि उक्त माग राखेका हुन् ।
शान्तिपूर्वक ढंगवाट आ(आफ्ना विचार र माग राख्न पाउने अधिकार सुनिश्चित हुँदाहुदै पनि पछिल्लो समयमा गलत, अराजक, अमानवीय र असंवैधानिक हर्कतहरु वृद्धि हुँदै गएकोप्रति नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ १४ जिल्ला सभापतिहरुद्वारा संयुक्त प्रेस वक्तव्य मार्फत खेद प्रकट गरेका छन् ।
संयुक्त प्रेस वक्तव्यमा भनिएको छ(नेपालको संविधानले शान्तिपूर्ण ढंगबाट आफ्ना माग राख्न पाउने अधिकार सुनिश्चित गर्दागर्दै पनि यहि मिति २०८१ चैत्र १५ गते संघीय राजधानी काठमाडौंमा जुन ढंगवाट तोडफोड, लुटपाट, डकैत, अराजक, अमानवीय र असंवैधानिक घटना घटाइएको प्रति दुःख व्यक्त गर्दै यस्ताखाले घृणित कार्यको घोर विरोध एवं भर्त्सना गर्दछौ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा गरिने यस्ताखाले घृणित, असंवैधानिक कार्य तत्काल बन्द गर्न र आफ्ना जायज मागहरु लोकतान्त्रिक पद्धतिमा रहेर शान्तिपूर्ण र सभ्य ढंगबाट राख्न हुन जुनसुकै समुह, जुनसुकै आस्था मान्ने साथीहरुलाई हार्दिक अपिल समेत संयुक्त प्रेस वक्तव्य मार्फत गरिएको छ ।