
१८ माघ २०८१,काठमाण्डौ । राजनीतिक अस्थीरताका कारण मुलुकमा राजनीतिक तथा आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेकाले वर्तमान सरकार गठन गर्नुपरेको नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बताएका छन ।
शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै देउवाले विगतमा स्थिर सरकार नहुँदा मुलुकमा राजनीतिक तथा आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेकाले अहिलेको सरकार गठन भएको बताए ।
उनले एमालेसँग सरकार गठनको बेलामा भएको ७ बुँदे सहमतिप्रति नेपाली कांग्रेस दृढ रहेको प्रतिबद्धता व्यक्त गरे । एमालेसँग भएको ७ बुँदे सहमति कार्यान्वयन हुने उनको भनाई थियो ।
सभापति देउवाले सरकारको मूल्यांकन गर्दा ६ महिनाको समय पर्याप्त नहुने उल्लेख गर्दै सुरुको अवधिमा धेरै राम्रा काम गरेको र भविष्यमा असल परिणाम देखिनेगरि काम गर्ने जिकिर गरे । सरकारले ल्याएको अध्यादेशले मुलुकको आर्थिक प्रणालीका साथै सुशासनमा सुधार हुने विश्वास उनको थियो । देउवाले राजनीतिक दलहरुका बीच सहमतिका आधारमा संविधान संशोधन हुनुपर्ने भन्दै यसबारेमा छलफल प्रारम्भ गरिसकेको उल्लेख गरे । लोकतन्त्रको विकल्प खोज्न नहुने र यसलाई थप सुदृढ बनाउदै नागरिकको जीवनसंग जोड्न सक्नुुपर्ने उनको कथन थियो ।