७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

Radio Khabar Palika

धनकुटाका पत्रकारहरूद्वारा विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान



१० माघ, धनकुटा । धनकुटाका पत्रकारहरूले विपन्न परिवारका विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेका छन् । तिहारमा देउसीभैलो खेलेर सङ्कलन भएको रकमबाट पत्रकारहरूले धनकुटा–७ स्थित त्रिवेणी माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका ११ जना विद्यार्थीहरूलाई स्विटर, टोपी, कपी र कलम प्रदान गरेका हुन् ।

सदाझै यो वर्ष पनि धनकुटाका एक दर्जन बढी पत्रकारहरूले जिल्ला सदरमुकाममा दुई दिन देउसीभैलो खेलेका थिए । सोही देउसीभैलोमार्फत सङ्कलन भएको रकमबाट विद्यार्थीहरूलाई एक् कार्यक्रमका बीच सहयोग गरिएको हो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष विदुर खवास, उपाध्यक्ष कटेल, अकोरावका केन्द्रिय उपाध्यक्ष गोपाल बराइली, फोनिजका निवर्तमान प्रदेश अध्यक्ष सन्तवीर लामा, प्रेस युनियनका अध्यक्ष विनोद घिमिरे, फोनिजका जिल्ला अध्यक्ष मानवी मोक्तान, प्रेस सेन्टरका सचिव विपिन दाहाल पत्रकारहरू कोकिला भण्डारी, जानु तामाङ, प्रमिला घिमिरे, प्रज्वल कटेल लगायतले विद्यार्थीहरूलाई सामग्री प्रदान गरेका थिए । सो अवसरमा त्रिवेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक पोख्रेलले देउसीभैलो खेलेको पैसालाई सदुपयोग गरेर विपन्न विद्यार्थीहरूलाई सहयोग गरेकोमा पत्रकारहरूलाई धन्यवाद दिए । कार्यक्रममा देउसीभैलो कार्यक्रमका समन्वयकर्ता एवं पत्रकार महासंघका उपाध्यक्ष रविन कटेलले सङ्कलित रकमलाई सामाजिक काममा खर्च गरौँ भन्ने सोचले विद्यार्थीहरूलाई सहयोग गरिएको जानकारी दिए । धनकुटाका क्रियाशील पत्रकारहरूले हरेक वर्ष देउसीभैलो खेलेर सङ्कलन भएको रकमलाई सामाजिक काममा खर्च गर्दै आएका छन् । उनीहरूले गत वर्ष श्रीपञ्चमी पार्कस्थित वाल पुनस्थापना केन्द्रमा आश्रित बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेका थिए ।